
१६ चैत्र, काठमाडौ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरेली व्यवसायी निकै कस्सिएका छन्, जाउँ पोखरा अभियान २०७५ लिएर राजधानी आएका व्यवसायीहरुले पाहुनालाई पोखरा भ्रमणको निम्तो गरेका छन् ।
जाऔ पोखरा अभियानको दर्जनौ श्रृखला संचालन गरेका व्यवसायीहरुले आन्तरिक भ्रमण वर्षालाई थप प्रभावकारी बनाउन अभियान लिएर राजधानी आएको पश्चिमान्चल होटेल व्यवसायी संघका अध्यक्ष विकल तुलचनले बताउनुभयो ।
पर्यटकीय राजधानीको उपमा पाएको पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ । प्रकृति संस्कृति सभ्यतासंगै पर्यटन उद्यममा अग्रणी रहेको पोखरामा थप पाहुनालाई निम्त्याउन व्यवसायीहरु देश दौडाह अभियानमा छन् ।
माछापुच्छ्रे फेवा बाहेक दर्जनौ ताल हिमाल र संस्कृतिको संगम पोखरा विश्वको पर्यटकीय गन्तव्यमा पर्दछ । कुल भ्रमण गर्ने विदेशी तथा स्वदेशी पाहुनामा करिब ३० प्रतिशत पोखरा पुग्ने गरेको अनुमानित तथ्याँक छ । संघीय सरकारको भ्रमण वर्ष २०२० आयोजना, गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ जारी रहेको बेला व्यवसायीहरुले संचालन गरेको अभियानको निकै अर्थ छ ।
संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको अगुवाइमा भईरहेका पर्यटन प्रवर्द्धनका कार्यक्रम निकै महत्वपूर्ण रहेको हानकी प्रथम उपाध्यक्ष सिर्जना राणाले बताउनुभयो ।
संघीय सरकारले भ्रमण वर्ष कार्यक्रम कार्यान्वन चरण लगिसकेको बेला पूर्वाधारको विषय चुनौति भएको उपाध्यक्ष राणाले प्रतिकृया दिनुभयो । उहाँले पूर्वाधारमा सुधार ल्याउन सके नेपालको पर्यटन क्षेत्रले गति लिने दावी गर्नुभयो । पछिल्लो समय राज्यले पूर्वाधारमा जोड दिएको छ, तर अझै पर्याप्त हुन सकेको छैन । पूर्वाधारकै अभावमा गन्तव्यसम्म पुराउन अझै कठिन छ राणाले भन्नुभयो ।
निजी क्षेत्रको अगुवाईमा चलिए पोखरा कार्यक्रम लिएर भारतका विभिन्न शहरमा प्रवर्द्धनका कार्यक्रम हुदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा पुराउन व्यवसायीहरुको अभियान जारी छ । पर्यटन क्षेत्रले पोखराको अर्थतन्त्रलाई मद्दत गरेको छ । वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सीलको प्रतिवेदन अनुसार कुल ग्राहर्स्थ उत्पादनमा ७.५ प्रतिशत योगदान र १० लाख रोजगारी दिएको छ ।
अर्थतन्त्रको मेरुदण्ड पर्यटन भएपनि समय सापेक्ष नीति र कार्यक्रमको सही तर्जुमा र कार्यान्वयन हुन नसक्दा पर्यटन क्षेत्रले अपेक्षाकृत परिणाम ल्याउन नसकेको पर्यटन पत्रकार महासंघ (नेफ्टोज) का केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले बताउनुभयो । उहाँले संरक्षणमा आधारित दीगो पर्यटन विकासको पक्षमा महासंघले वकालत गर्दै आएको प्रष्ट्याउनुभयो । प्रकृति र संस्कृतिको संरक्षण विना नेपालको पर्यटन दीगो नहुनेमा जोड दिदै निजी क्षेत्र पनि संरक्षणमा जुट्नु पर्ने सुझाउनुभयो ।



Milan Shrestha । १६ चैत्र २०७५, शनिबार २३:१४ बजे