कर्णाली मन्त्रिपरिषद् बैठक सम्पन्न, यातायात नियमावली स्वीकृतदेखि सडक आयोजना सिफारिस


सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको यातायात व्यवस्थापन तथा पूर्वाधार विकाससँग सम्बन्धित तीन महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

बैठकले “कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२” स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी, कालिकोट जिल्लाको “महाबै गाउँपालिका केन्द्र जोड्ने सडक” लाई प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोग मा सिफारिस गर्ने निर्णय गरिएको छ ।

यस्तै, जाजरकोट जिल्लाको “वडावन–सानाखोला सडक” लाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरिएको छ ।