कर्णाली प्रदेश सरकारको अभियान सडक नागरिक मुक्त प्रदेश निर्माण


२१ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले मानव सेवा संसारको उत्कृष्ट कार्य भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित मानव सेवा समाजले गरेको कार्यको उच्च प्रशंसा गर्दै मन्त्री रावलले सो कुरा बताउनुभएको हो । “मानव सेवा संसारको उत्कृष्ट कार्य हो,” मन्त्री रावलल भन्नुभयो, “माघ १८ गते सुर्खेतमा स्थापना भएको यो संस्थाले छोटो समयमै मानवीय क्षेत्रमा राम्रो काम देखाएको छ । ” कर्णाली प्रदेश सरकारले सडक नागरिक मुक्त प्रदेश गर्ने अभियानका साथ अघि बढेको बताउँदै उहाँले मानव सेवा समाज कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जिता गौतमलाई पहिलो किस्ता स्वरुप रु.पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।

हिंसा पीडितहरुलाई पुनर्स्थापना केन्द्रको रुपमा सञ्चालन गर्न चालू आ.व.०७५/०७६ मा स्वीकृत गरिएको रु. १० लाख मध्य पहिलो किस्ता मन्त्रालयले हस्तान्तरण गरेको हो । मानव सेवा समाजका संयोजक सञ्जिता गौतमले माघ १८ गते संस्था स्थापना सँगै दुई जनाबाट शुरुवात गरिएकोमा हाल २४ नागरिकहरु पुगेको बताउनुभयो ।

“२०८२ सालसम्म कोही पनि व्यक्ति सडक नागरिकका रुपमा देख्न नपाईयोस् भन्ने उद्देश्यले अघि बढेका छौं,” संयोजक गौतमले भन्नुभयो, “त्यसको साथै यहाँ पुगेका सडक नागरिकलाई पारिवारिक पुनःमिलन पनि गराएका छौं ।” उहाँले यहाँ सम्पर्कमा आएका सडक नागरिकलाई समाजले नाना, छाना र खानाको व्यवस्था गर्दै आएको जनाउनुभयो ।

यता प्रदेश सरकारले समाजमा आश्रय लिएर बसेका सडक नागरिकहरुको स्वास्थ्य अवस्था ठिक राख्न बेला बेलामा स्वास्थ्य शिविर सञ्चालन गर्ने वचन दिएको छ ।