काठमाडौं: तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । एउटा राष्ट्र बन्नका लागि भाषा, संस्कृति, जनसंख्या, आर्थिक स्रोतलगायतका जेजे चाहिने हो, त्यो सबै पूर्ण भएको छ । त्यसैले मधेस एउटा राष्ट्र हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’
तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र विखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो ।’
राज्यले शान्तिपूर्ण आन्दोलनलाई जेजस्तो तरिकाले दमन गर्दै छ, त्यो अन्धा धृतराष्ट्रलाई दुर्योधनले सञ्चालन गरेजस्तो मात्र भएको उनको भनाइ थियो । उनले भने, ‘राज्य अन्धो हुँदो रहेछ, हुनु हुँदैन ।’
मधेसको कुनै भूभाग र स्रोत पहाडमा नमिसाइयोस् भन्ने आफूहरूको आग्रहविपरीत राज्य सञ्चालन भएकोमा उनले दुःख व्यक्त गरे । राज्यले अन्धकारमा संविधान जारी गरेको परिणाम सात प्रान्तको नामसमेत दिन नसकेको उनले बताए ।
अध्यक्ष ठाकुरले भने, ‘प्रजातन्त्रमा सरकार डिफेन्स हुन्छ, अफेन्स होइन तर शान्तिपूर्ण मधेस आन्दोलनमा सरकार डिफेन्सिभ भयो । जसको परिणाम गोलीको दमनमा मधेसी जनता रहन बाध्य भए । मधेसीसँगको वार्तामा सरकार गम्भीर छँदैछैन ।’ उनले गत भदौदेखिको आन्दोलन र त्यसका माग मधेसीको मात्र नभएर सिंगो राष्ट्रकै भएको दाबी गरे ।
आफूहरूमाथि देश टुक्याउने आरोप लगाएकोमा उनले दुःख व्यक्त गरे । उनले भने, ‘हामीले ११ बुँदे मागअनुसारको पहल आवश्यक छ । सो माग अन्तरिम संविधान २०६३, राज्य पुनर्संरचना समितिको प्रतिवदेन र राज्य पनर्संरचना आयोगमा बहुमतले दिएको प्रतिवेदनअनुसार पूरा हुनुपर्छ । अन्यथा आन्दोलन अघि बढ्छ ।’
साभारः अन्नपूर्ण पोष्ट



Milan Shrestha । २८ चैत्र २०७२, आईतवार ०४:३३ बजे