कारागारमा पुस्तकालय,शान्ति सुरक्षाका लागि सामाजिक रुपान्तरणकाे खाँचो


सुर्खेत, २३ चैत ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताउनु भएकाे छ । ‘कारागारमा किताब अभियान’ को आज शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले बन्दुक देखाएर एवं लाठी प्रहार गरेरमात्र समाज शान्त नहुने भन्दै यसका लागि सामाजिक रुपान्तरणको खाँचो औंल्याउनु भएको छ ।

उहाँले यस अभियानबाट कर्णालीमा सामाजिक रुपान्तरणको नयाँ आयाम शुरु गरेको बताउनु भयो । ‘सकारात्मक सोचको भावना विकास गर्न पुस्तक पढ्न जरुरी छ, जेलमा बस्दैमा निराश हुनुपर्दैन्,’ मुख्यमन्त्री शाहीले कैदी बन्दीहरुलाई भने, ‘तपाईंहरुको ज्ञान, सीप, रुची के छ प्रस्ताव पठाउनुस सरकार सहयोग गर्न तयार छ ।’ उहाँले कैदीबन्दीलाई गुरुकूल सम्झेर कारागारमा पुस्तकहरु पढ्न आग्रह गनुभयो। उनले यस अभियानलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री दल रावलले फुर्सदमा पुस्तक पढेर सिर्जनशिल बन्न कैदी बन्दीलाई सुझाव दिनुभयो। जेल बसाइँलाई सदुपयोग गर्न सके राष्ट्रकै प्रतिष्ठित व्यक्ति बन्न सकिने उनको भनाई थियो । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले आफू जुम्ला कारागारको निरीक्षणमा जाँदा त्यहाँका एक कैदीले ‘पुस्तक भए पढ्न चाहन्थें’ भनेपछि त्यही कुराले मन छोएर पुस्तक सङ्कलन अभियान शुरु गरेको उल्लेख गर्नु भयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका ८ जिल्ला कारागारमा एकैसाथ शनिबारदेखि अभियानको शुरुवात भएको हो । सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिएका छन् । हुम्ला र मुगुमा कारागार भवन सञ्चालनमा नआएकाले हुम्लाको जिल्ला प्रशासन र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ ।

अभियानका प्रदेश सदस्य यज्ञ खत्रीले फाइन प्रिन्ट, बुलबुल, बुकहिल, सांग्रिला, नई प्रकाशन, अक्षर क्रियशन, एजुकेशनल बुक नेपाल, पुस्तक व्यवसायी संघ लगायतका प्रकाशन गृह तथा सङ्घ–संस्था र व्यक्तिगत सहयोगमा पुस्तक संकलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विधाका ८ हजार ३ सय ८८ थान पुस्तक संकलित छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि रु. ५ लाख बजेट उपलब्ध गराएको थियो । कारागारमा पुस्तकालय स्थापनालगत्तै लेखक एवं साहित्यकारहरु र कैदी÷बन्दीबीच अन्तक्र्रिया गरिएको थियो । मुलुकका प्रतिष्ठित १५ जना साहित्यकारहरु यतिबेला कर्णालीमा छन् । प्रदेश प्रहरीको संयोजनमा उनीहरुले शनिवार पहिलो पटक कैदीबन्दीसँग अन्तक्र्रिया गर्नेछन् ।

सुर्खेत कारागारमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार एवं कथाकार नयनराज पाण्डे र कवि नवराज पराजुली, दैलेखमा निबन्धकार स्तम्भ लेखक शेखर खरेल, उपन्यासकार तथा कथाकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी, रामलाल जोशी, रुकुम (पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार शिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तरक्रया गर्नुभएकोहो  । यसैविच, कैदी बन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न कर्णालीका प्रत्येक जिल्ला तथा प्रदेश कारागारमा बुक क्लव गठन गरिएको छ । क्लबमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिताका साथै समिक्षा हुनेछ । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ । उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिने योजना छ । महिनामा उत्कृष्ट हुने कैदी÷बन्दीलाई पुस्तक पढेबापत कारागारको चिनोका रुपमा उक्त पुस्तक नै उपहार प्रदान गरिनेछ ।