हत्यारा पत्ता नलाग्दा परिवारमा निराशा


मृतक चन्द्रप्रसाद आचार्य

२६ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक साँझ निर्मतापूर्वक हत्या गरी शव बाटोमा फालिएको अवस्थामा भेटियो । गत फागुन १८ गते वीरेन्द्रनगर-१ निवासी व्यापारी चन्द्रप्रसाद आचार्यको हत्या गरि शव बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । हत्या भएको एक महिना भन्दा बढी भएपनि हत्याराको पत्ता नलाग्दा पिडित परिवारमा निराशाको बादल छाएको छ ।

आज (मंगलबार) वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले गुनासो गरे, ‘कहिले पाउँने न्याय?’ मृतक आचार्यकी छोरी संगिता आचार्यले भन्नुभयो, ‘हत्या भएको यत्तिका समय हुँदा सम्म पनि अपराधी पत्ता नलाग्दा अन्याय भएको महशुस भईरहेको छ ।

प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकिरहेको छैन ।’ वीरेन्द्रनगरको जुम्ला रोडमा चिया नास्ता पसल सञ्चालन गर्दै आउनुभएका आचार्य गत फागुन १८ गते बैंकमा खाता खोल्नु छ भन्दै दिउँसो घरबाट निस्कनु भएको थियो । दिनभर नास्ता पसलमै बस्नुभएका आचार्यको शव त्यहीँ दिन राती करिव १०ः३० बजे बुद्धपथमा प्रहरीले फेला पारेको थियो ।

हालसम्म पनि घटनाको वास्तविकता नखुल्नुमा अपराधमा संलग्न व्यक्तिले योजनाबद्ध तरिकाले हत्या गरेेको पिडितको भनाई छ । प्रशासन र पीडित परिवार समक्ष घटना गुमनाम गर्न खोजिएको पिडित परिवारको धारणा छ ।

प्रहरीले घटनालाई गम्भिरतापूर्वक नलिएको बताउदै उहाँले, ‘प्रहरीले घटनास्थलमा भेटिएका केही प्रमाण ल्याव टेष्टका लागि काठमाडौं पठाएको छ । तर रिपोर्ट आइसकेपनि नआएको जानकारी दिने गरेको परिवारको गुनासो छ । प्रहरीले घटनाबारे पीडित समक्ष फरक-फरक विवरण बताउँदै आएको छ ।’ उहाँले बताउनुभयो ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले परिवारले प्रहरी माथि लगाएको आरोप गलत भएको बताउनुभयएको छ । परिवार र प्रहरीसंग हत्या भएका ठोस आधारहरु नभएपछि शुन्यबाट घटना अनुसन्धान अघि बढाएको क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त घटनाई गम्भिर रुपमा लिएको बताउदै डिएसपी क्षेत्रीले अनुसन्धानकै क्रममा २० भन्दा बढीलाई प्रहरीले सोधपुछ गर्नुका साथै मंगलबार पनि २ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

‘कतिपय रिपोर्ट हामी समक्ष आइसकेका छन् । केही रिपार्ट सिआइवीले छानविन गरिरहेको छ । चाडै नै अपराधीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान पक्षलाई प्रभावकारी बनाएर काम अघि बढाएका छौं ।’ डिएसपी क्षेत्रीले भन्नभयो ।