१७ जेठ, सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै आफुलाई भ्रष्टाचारविरोधी अभियन्ता भनी प्रचार गर्ने ज्ञानबहादुर भनिने ज्ञानेन्द्रबहादुर शाही सुर्खेतबाट पक्राउ परेको र उक्त प्रकरणमा कर्णालीको पत्रकारिता क्षेत्र प्रत्यक्ष रुपमा जोडिएकोले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले विज्ञप्तीमा ज्ञानेन्द्र शाही पक्राउ प्रकरणबारे ७ बुँदे धारण गरेको रहेको स्पष्ट पारेको सार्वजनिक गरेको छ ।
१) २०७५ वैशाख १८ गते निज ज्ञानेन्द्रबहादुर शाहीले सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरे पनि उक्त पत्रकार सम्मेलनमा कुनै पनि पत्रकारलाई निमन्त्रणा नगरिएको । तर, साँझ उल्टै एउटा अनलाइन मिडियामा भिडियो अन्तर्वार्ता दिई पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई तथानाम गालीगलौज गरेको । ‘यहाँका पत्रकार कुकुर, दलाल हुन्, भ्रष्टाचारीका मतियार हुन्’ भन्नेजस्ता अपाच्य शव्द प्रयोग गरी पत्रकार र पत्रकारिता क्षेत्रलाई नै बदनाम गरेको । यसबाट पत्रकारको मानमर्दन र आत्मसम्मानमाथि गंभीर चोट पुग्नुका साथै पत्रकारिताबारे समाजमा घृणा तथा गलत भ्रम सिर्जना भएको ।
२) सोही साँझ नेपाल पत्रकार महासंघका सुर्खेतमा उपलव्ध जिल्ला, प्रदेश र केन्द्रका प्रतिनिधिको बैठकबाट प्रचलित कानुन बमोजिम निज ज्ञानेन्द्रबहादुर शाहीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने निर्णय भएको । महासंघका सुर्खेत जिल्ला शाखा अध्यक्ष र कर्णाली प्रदेश समिति अध्यक्षले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कारबाहीको माग गर्दै उजुरी दिइएको ।
३) तत्तपश्चात सुर्खेत प्रहरीले मिति २०७६ जेठ १५ गते जिल्ला प्रहरी कार्यालयकै अगाडि आयोजित एउटा कार्यक्रमबाट निजलाई पक्राउ गरेको ।
४) पक्राउको क्रममा निज ज्ञानेन्द्रबहादुर शाही र उनका समर्थकले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरी निरीक्षकसहित ५ जना प्रहरी घाइते भएका प्रहरीको भनाइ । दोहोरो झडपमा स्वयं शाही पनि घाइते भएको सार्वजनिक । पत्रकार महासंघ घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
५) पत्रकार महासंघ निज शाहीले चलाएको भ्रष्टाचारविरोधी अभियानको विरोधी नभएको स्पष्ट पार्न चाहन्छ । उहाँको विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पनि हाम्रो उच्च सम्मान र ऐक्यवद्धता छ । तर, स्वतन्त्रताको नाममा अर्काको अपमान र मानमर्दन गर्ने, गालीगलौज गर्ने, पत्रकारिता पेशाप्रति नै घृणा सिर्जना गर्ने कार्यप्रति हाम्रो गंभीर आपत्ति हो । यो वा त्यो बहानामा पत्रकारमाथि गरिने यस्तो व्यवहार प्रेस स्वतन्त्रताविरोधी गतिविधि हो भन्ने हाम्रो ठहर छ ।
६) शाही पक्राउ परेपछि विद्युतीय कारोबार ऐन र भ्रष्टाचारविरोधी अभियानसँग जोडेर निजले गरेको गलत कार्य (अपराध)को ढाकछोप गर्ने प्रयास भइरहेकोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । केही कथित बुद्धिजीवी भनाउँदा र प्रेस स्वतन्त्रता तथा मानवअधिकारको नाममा डलरको खेती गर्ने व्यक्तिबाट समेत यस्तो अभिव्यक्ति आउँदा हामीलाई आश्चर्य लागेको छ । घटनाको गहिराइमा नपुगेरै हतारमा यस्तो प्रतिक्रिया दिनुले कर्णालीमा बसेर पत्रकारिता गर्ने हामी पीडित पत्रकारलाई झन् पीडा महसुस भएको छ । पत्रकार महासंघको लागि आफ्ना सदस्य (पत्रकार) माथि हुने कुनै पनि किसिमको भौतिक वा वैचारिक प्रहार सह्य हुँदैन । त्यसविरुद्ध कटिबद्ध भएर लड्ने पनि स्पष्ट पार्न चाहन्छौं ।
७) अन्त्यमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत लगाएत जिल्ला शाखा निज ज्ञानेन्द्रबहादुर शाहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछ ।




Milan Shrestha । १७ जेष्ठ २०७६, शुक्रबार १६:४६ बजे