
२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारलाई खुल्ला ‘जु’को रुपमा विकास गरिने बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा आज बुधवार विहान सरसफाई तथा वृक्षारोपण पश्चात संचारकर्मीहरुसंग बोल्दै मुख्यमन्त्री शाहीले पुरातात्विक र ऐतिहाँसीक महत्व वोकेको काँक्रेविहारलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने बताउनुभयो । ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार रहेको उहाँको भनाई छ ।

दुनियाँले के भन्छ भन्ने सरोकार आफुलाई नरहेको बताउदै मुख्यमन्त्री शाहीले मानव मस्तिष्कमा रहेको फोहोरको डंगुर सफा गर्न आफु नाला सफा गर्दै हिडेको बताउनुभयो । स्वच्छ र सफा वातावरण विना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै मुख्यमन्त्री शाहीले जनचेतना अभिवृद्धिसंगै कानुनको कार्यान्वय मार्फत सरसफाई तथा स्वच्छताको प्रवर्धन गरिने बताउनुभयो ।
वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उहाँले वातावरण संरक्षणमा सवै क्षेत्र गम्भिर वन्नुपर्ने धारणा राख्नुभयो ।
विश्व वातावरण दिवसको अवसरमा आज बुधवार विहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लवहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाई गर्नुको साथै वृक्षारोपन गरिएको थियो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।




Milan Shrestha । २२ जेष्ठ २०७६, बुधबार ११:१३ बजे