गुर्भाकोटमा २ दिने कानुनी अनुशिक्षण कार्यक्रम शुरु


१५ असार, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका महिला वडा सदस्य र अन्य महिलाहरुले वडास्तरमै कानुनी अधिकार सम्बन्धी क्षमता अभिवृद्धीका कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

गुर्भाकोट नगरपालिकामा आजदेखी सुरु भएको ‘२ दिने कानुनी अनुशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले आफुहरुलाई कानुनसम्बन्धी धेरै ज्ञान नभएकोले विगतमा विभिन्न घटनामा पिडित भएको अनुभव सुनाए ।

वडास्तरमै यस्ता कार्यक्रम गरेमा धेरैलाई राहात हुने सहभागीहरुले अनुभव सुनाए । गाउँ, टोल, छरछिमेक जहाँतही कानुनी अधिकारसम्बन्धी तथा दण्डसजाए सम्बन्धी कार्यक्रम भएमा हिंसाका घटना पनि कम हुने र पिडितलाई पनि राहातका लागि अधिकारसम्बन्धी ज्ञान हुने भएकाले यस्ता कार्यक्रम नगरपालिकाले वडास्तरमै गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले कानुनबारे सबै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले उक्त तालिमा सहभागीहरुलाई आ-आफ्नो सम्बन्धित वडा, टोल, छरछिमेक र साथिभाइहरुलाई जानकारी दिन अनुरोध गर्नुभयो।

त्यस्तै गुर्भाकोट नगरपालिकाका नगर उपप्रमुख मैना विकले नगरपालिकामा विभिन्न मुद्धाहरु समाधान गर्न नगरपालिकाले वडास्तरमै इजालस गठन गरेको बताउनुभयो । नगरपालिकाकाे न्यायिक समितीको संयोजकसमेत रहनुभएकी उपप्रमुख विकले नगरपालिकाका जनप्रतिनिधीले जनताहरुको आवश्यकता र चाहानाअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामी जनप्रतिनिधी निर्वाचित भइसकेपछी हाम्रो आशा जनतामा ठुलो मात्रामा छ, जनतालाई पनि कानुन थाहा नभएर जनप्रतिनिधीलाई पनि थाहा नभएको खण्डमा अप्ठ्यारो पर्छ । जनताले गैरकानुनी कुरा गरेमा हामी नाजावाफ हुन सक्छौँ ।” उहाँले भन्नुभयो ।

उहाँले नगरपालिकाले यस्ता कार्यक्रमको आवश्यकताअनुसार गरिरहने बताउनुभयो । भौतिक विकास भन्दा पनि जनताको अधिकार, शिक्षा र चेतना विकासमा जोड दिने उपप्रमुख विकको भनाई छ ।

कार्यक्रममा अधिवक्ता गिता कोइरालाले कुनैपनि कानुनले अन्याय नगर्ने स्पष्ट पार्नुभयो । सहभागीहरुको जिज्ञासामा कोेइरालाले कानुनले अधिकार दिएको र हामिलाई ज्ञान नभएर समस्या परेको दावी गर्नुभयो । “हामि भन्छौँ कानुनले अन्याय गर्यो, तर कानुनले कहिल्यै अन्याय गर्दैन । कानुन सबैका लागि समान छ, तर अन्याय हाम्रो परम्परागत सोच र संस्कारले गर्यो।” उहाँले भन्नुभयो ।  उहाँले कानुनको महत्व जो कोहिलाई धेरै भएको बताउनुभयो ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका १४ वटै वडाका महिला मडा सदस्य, नगरकार्यपालिकाका महिला सदस्य र अन्य महिला सदस्य गरी करिब ६० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

द ग्रिनसिटी सेनिटेशन सेवा नेपालको आयोजना, कर्णाली मिडिया सेन्टरसंगको सहकार्य र गुर्भाकोट नगरपालिकाको सहयोगमा आइतबारदेखी सुरु भएको कार्यक्रम २ दिनसम्म चल्नेछ ।