कर्णालीको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु


१६ असार, दैलेख । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको सम्भावना रहेको दैलेखको पञ्चकोशी क्षेत्रको श्रीस्थान र नविस्थानमा आजबाट पेट्रोलियम पदार्थ भण्डारको अन्वेषण शुरु गरिएको छ ।

अन्वेषण कामको शुभारम्भ गर्दै संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यहाँ पेट्रोलियम पदार्थ छ कि छैन भनेर पहिले नै हाम्रा पूर्खाहरुले प्रमाणित गरिसकेका छन् अव यस्लाई केवल वैज्ञानिक रुप मात्र दिन सरकार लागेको बताउनुभयो ।

हाम्रा पूर्खाहरुले प्रमाणित गरिसकेको कुरालाई हामीले चिन्न नसकेको हो उहाँ भन्नुभयो । ‘हाम्रा पूर्खाहरु पुरै आध्यात्म तर्फ रहेकोले बली रहेको ज्वाला कुनै इन्धनको रुपमा नभै भगवानले बाल्नु भएको हो भन्नेमा केन्द्रित भयौ । हाम्रो वेद पुराणहरु पढेर वैज्ञानिक भए तर हामी कितावलाई पूजा गर्न तर्फ लाग्यौ । म सबै धर्मलाई सम्मान गर्छु त्यसैले त देश धर्म निरपेक्ष भएको छ । तर धर्मको आस्थाको नाममा भ्रम फैलाउन नहुने भन्दै हामीले विज्ञानलाई समात्न नसकेको कारणले हाम्रो दुर्दशा भएको  मन्त्री यादवको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेट्रोलियम उत्खनन् शुरु गर्न पहल गर्ने पूर्व मन्त्री सोम पाण्डे र जती सक्दो चाँडो यस्को उत्खनन् गर्नुपर्छ भनेर कर्णालीलाई प्राथमिकतामा राखि लागि पर्नुभएका संघीय सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्री प्रति कर्णाली प्रदेश सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

मुख्यमन्त्री शाहीले उत्खनन् प्रभावित क्षेत्रका जनताहरुको जीवनस्तरमा कुनै किसिमको गिरावट हुन नदिएर अहिलेको भन्दा सुविधा सम्पन्न र सुरक्षित जीवनको सुनिश्चित गरि यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रमा विकास गर्दै पेट्रोलियम पदार्थको उत्खनन् गरिने बताउनुभयो । उहाँले उत्खनन् पश्चात लगानी भन्दा उत्पादन धेरै भएमा मात्र उत्खनन् कार्य हुने यदी लगानी भन्दा उत्पादन कम हुने भएमा उत्खनन् कार्य हुन नस्कने भन्नुभयो ।

कार्यक्रममा संघीय सरकार तथा प्रदेश सरकारका सभासदहरु, योजना आयोगका प्रतिनिधीहरु र स्थानीय सरकार जनताहरुकव सहभागिता रहेको थियो ।