लाटीकोइलीमा अस्थाई प्रहरी विट स्थापना


२५ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ऐतिहासिक एवं पर्यटकिय वडा ९ न‌ं वडाको लाटीकोइलीमा आज एक कार्यक्रमका वीच अस्थाई प्रहरी विटको स्थापना गरिएको छ ।

प्रहरी विटको स्थापना गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले नगरको पर्यटकिय वडामा सुरक्षाकालागि प्रहरी विट स्थापना हुनु महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले नगरका १६ वटा वडा भन्दा ९ नं वडा फरक रहेको र लाटीकोइलीको तल्लो क्षेत्र बामे खोलालाई आधार बनाएर सुरक्षा का नयाँ रणनितीकालागि जिल्ला सुरक्षा समितिमा प्रकिया अघि बढेको बताउनुभयो ।

यो ९ न‌ं वडालाई अझै पर्यटकिय क्षेत्रमा विकास गर्नकालागि बृहद छलफल चलाउन आवश्यक रहेको औल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख मोहनमाया ढकालले वडामा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र काँक्रेविहारलाई सार्थक बनाउनकालागि सबै नगरबासीले सोच्नुपर्ने र सुरक्षित बनाउनकालागि सबै लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै स्थानीय समाजसेवी डम्मरविक्रम जिसीले प्रहरी विटको स्थापनाले काँक्रेविहारको पर्यटकिय सुरक्षा बलियो हुँदै अपराधिक गतिविधीमा कमी आउने विश्वास गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त रजौरेले नगरको ९ नं वडामा अस्थाई प्रहरी विट राख्न सफल भएको बताउँदै अब यहाँका बासिन्दाहरुले स्थाई प्रहरी विट स्थापना गर्नकालागि वतावरण बनाई माग गर्नुपर्ने र प्रहरी हरदम सुरक्षा दिन तयार रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले अस्थाई प्रहरी विटले वडाको पुरै क्षेत्र समेटेर सुरक्षा गर्नकालागि अहिलेकालागि प्रहरी हवल्दारको कमाण्डमा ५ जना प्रहरी विटमा रहने जानकारी दिँदै अब काँक्रेविहारमा सुरक्षा व्यवस्था राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सुर्खेतबाट सरुवा हुनुभएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेलाई नगरप्रमुख देवकुमार सुबेदी तथा वडा अध्यक्ष सुरेस मानन्धरले मायाको चिनो दिनुभएको थियो ।

वडा सचिव देवप्रसाद मुलेलले सहजीकरण गर्नुभएका कार्यक्रममा स्थानीय समाजसेवी ध्रुवकुमार श्रेष्ठ, कालीप्रसाद शाक्य, नगरपालिकाका प्रशासकिय अधिकृत ललितविक्रम सिंह, वडामा रहेका टोल विकास समितिका अध्यक्षहरुको प्रनिनिधी गर्दै नरबहादुर गुरुङ्ग लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।