
११ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले कर्णालीमा उद्योग खोल्न आवश्यक रहेको बताउनुभएको छ ।
आज (शनिबार) देखि सुर्खेतको वीरेन्द्रनगरमा संचालन भएको सुर्खेत सुपर मार्केटको उद्घाटन गर्दै मन्त्री बुढाले यस्तो बताउनुभएको हो । मन्त्री बुढाले भन्नुभयो ‘कर्णाली प्रदेशको समृद्धिको लागि उद्योग खोल्नु जरुरी छ । जसका लागि प्रदेश सरकारले संघीय सरकारलाई समेत अनुरोध गरिसकेको छ ।
रोजगारको लागि पनि उद्योग आवश्यक भएको भन्दै कर्णाली कै कच्चा पदार्थलाई प्रयोग गरि प्रशोधन गर्न सकिने खालका उद्योगहरु संचालन ल्याउन सक्ने हो भने कर्णाली आत्मनिर्भर बन्छ मन्त्री बुढाको भनाई थियो ।
वीरेन्द्रनगरको मुख्य क्षेत्रको रुपमा रहेको प्रगतिनगर टोलमा १२ कट्ठा जग्गा १५ वर्षका लागि सम्झौता गरेर निर्माण भइरहेको सुर्खेत सुपर मार्केट आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
सुपर मार्केटको औपचारिक कार्यक्रममा उक्त मार्केटका संचालक दानबहादुर जि.सी. ले भन्नुभयो, ‘व्यापारिक प्रयोजनका लागि गरिने कार्य सबै नाफाका लागि हुन्छन् यो सत्य हो । तर हामीले निर्माण गरेको मार्केटमा कोठा भाडा मुख्य बजार क्षेत्रको भन्दा निकै कम भएकोले उपभोक्ताको हक हितलाई मध्यनजर गर्दै सामान सस्तोमा बेच्न सकिने भएकोले पनि अन्य मार्केट भन्दा सुर्खेत सुपर मार्केट फरक छ ।’
थोक, फुटकर दुबै सेवा सुविधा रहेको उक्त मार्केटमा मासु तथा तरकारी जन्य वस्तु बाहेक अरु सबै बस्तुहरुको बिक्री वितरण गरिने छ । उक्त सुपर मार्केटमा ८६ वटा सटरहरु रहेका छन् । १० वर्ष कोरियामा काम गरेको अनुभव र काठमाडौंमा ३ वटा सुपरमार्केट संचालन गरेको अनुभवलाई संगालेर सुर्खेतमा पनि यस्तो मार्केटको खाँचो महसुस गरि सुरु गरिएको संचालक जि.सी.को भनाई छ । उहाँले भन्नुभयो, ‘सुर्खेत सुपर मार्केट भित्र पाउने हरेक सामानको मूल्य हरेक पसलमा एउटै हुनेछ । जसका लागि राज्यले बनाएको व्यापारिक नीतिलाई अनुशरण गरेर आफ्नै एउटा समितिको निर्माण गरि मूल्यमा एकरुपता ल्याइएको छ ।
मुख्य बजारमा ८० हजारसम्मका सटरहरु रहेका छन् भने सुर्खेत सुपरमार्केटमा ५ देखि १० हजार मासिक भाडाका सटरहरु रहेकोले पनि त्यहाँको सामान सस्तो पर्ने विश्वास लिइएको छ । प्रसस्त पार्किङ्गको व्यवस्थापन भएको उक्त मार्केटमा फेन्सी, रेष्टुरेण्ट देखि डिपार्टमेण्ट स्टोरसम्म रहने भएकोले पनि ग्राहकले खोजेका सबै सामानहरु एकै स्थानबाट उपलब्ध गराउन सकिने जि.सी.ले बताउनुभयो ।
‘हिल्सा नाका खुलेपछि कर्णाली प्रदेशका अन्य जिल्लाहरुका लागि आवश्यक पर्ने सामानहरुमा समेत सस्तो पर्नेछ ।’ संचालक जि.सी. का अनुसार मार्केटमा सिसिटिभी क्यामेरादेखि सुरक्षाको समेत व्यवस्थापन हुन्छ भने सरसफाइलाई पनि त्यत्तिकै ध्यान दिइने छ । साथै वातावरणलाई ध्यानमा राखी मार्केट भित्रै एउटा पार्कको समेत व्यवस्थापन गर्ने र हरियाली प्रवर्धनका लागि गमलामा विरुवाहरु समेत रोपिने बताइएको छ ।
त्यस्तै उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले कर्णाली प्रदेशमा उद्योग व्यवसाय र पर्यटनको प्रसस्त सम्भावना रहेकोले त्यसतर्फ प्रदेश सरकारले वातावरण बनाउनु पर्ने बताउनुभयो ।
दशैं तिहार स्किम समेत संचालन भइरहेको सुर्खेत सुपर मार्केटको उद्घाटन कार्यक्रममा ज्योति मगरले आफ्ना चर्चित गितहरु गाईरहँदा प्रहरी तथा आयोजकलाई दर्शक सम्हाल्न गाह्रो भएको थियो । त्यस्तै रामजी खाँडले पनि दर्शकलाई आफ्नो विभिन्न गीत गाएर भरपूर मनोरञ्जन दिनुभएको थियो भने हास्य कलाकार एवं गायक अर्जुन कुँवर (पित्री बुढो)ले आफ्ना गीत र हास्यकला पस्कनुभएको थियो ।
अर्का सुर्खेत कलाकार शिव संगीतले पनि आफ्ना गीतहरु गाएर स्थानीयबासीलाई मनोरञ्जन दिनुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।
बजार व्यवस्थापन समितिका अनुसार सुपर मार्केटबाट तिहार सम्म रु १ हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुकालागि भाग्यदयो उपहार कार्यक्रमको पनि संचालन गरेको छ ।
जीवन शाही र श्रृजना बुढाथोकीले संचालन गर्नुभएको कार्यक्रममा प्रेम आर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Milan Shrestha । ११ आश्विन २०७६, शनिबार २१:३३ बजे