भूकम्पपछि थप भौगर्भिक अध्ययनको तयारी


भूकम्पपछि बसोबासको दृष्टिकोणले कतिपय ठाउँहरु जोखिमयुक्त हुन सक्ने भन्दै सरकारले त्यस्ता ठाउँहरुबारे भौगर्भिक अध्ययनको प्रक्रिया अघि बढाएको छ।
भूकम्प लगत्तै अस्थायी बसोबासका निम्ति कतिपय ठाउँ सुरक्षित भए वा नभएको अध्ययन गरिएकोमा अब चाहिँ दीर्घकालीन हिसाबले अध्ययनको तयारी गरिएको अधिकारीहरुले बताएका छन्।
खानी तथा भूगर्भ विभागका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अध्ययन गरिने स्थानहरुको टुंगो लगाउँदैछ।
भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यादेश अनुसार खानी तथा भूगर्भ विभाग नेतृत्वको टोलीले ११ जिल्लामा भौगर्भिक अध्ययन गर्नेछ।

योजना

नयाँ अध्ययनले दिने सुझावका आधारमा दीर्घकालीन बस्ती बसाउने योजना अघि बढाउन सकिने अधिकारीहरुको विश्वास छ।
प्राधिकरणका अनुसार पहिला गरिएकै अध्ययनमा आधारित भइ स्थायी बसोबासका निम्ति भौगर्भिक अध्ययन गर्न लागिएको छ।
प्राधिकरणका प्रवक्ता राम थपलिया भन्छन्, “बसिरहेको ठाउँको अवस्था कस्तो छ? जस्तो अहिले १४ जिल्लामा १९३ ठाउँमा मानिसहरु अस्थायी रुपमा पाल हालेर बसिरहेको गृह मन्त्रालयबाट हामीलाई जानकारी प्राप्त भएको छ र ४७५ भन्दा बढी ठाउँहरु जोखिममा छन् भनेर प्रतिवेदन हामीसँग छ, त्यही प्रतिवेदनलाई आधार मानेर अध्ययन टोलीले आफ्नो अध्ययन अगाडि बढाउँछ।”
Image copyright.
स्थलगत अध्ययनका निम्ति खटाइने टोलीमा भूगर्भ तथा खानी विभागका विज्ञहरुका साथै नापी तथा वन विभाग, भू-संरक्षण, जिल्ला भवन लगायत निकायका अधिकारीहरु संलग्न हुनेछन्।
गत वैशाखको विनाशकारी भूकम्प लगत्तै गोरखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, काभ्रे जस्ता जिल्लामा गरिएको अध्ययनले अस्थायी बसोबासका निम्ति कतिपय स्थान जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो।
र, तत्कालीन समयमा बस्नका निम्ति सुरक्षित नभएको भन्दै अस्थायीरुपमा मानवबस्ती सार्न सरकारलाई सुझाव दिएको थियो।

प्राथमिकता

नयाँ अध्ययनले मुख्यगरी कुन-कुन विषयलाई प्राथमिकतामा राखी प्रतिवेदन तयार पार्नेछ त? भूगर्भ तथा खानी विभागका उप महानिर्देशक सोमप्रसाद सापकोटाले भने, “एउटा त हामीले भौगर्भिक हिसाबले बस्नै हुन्न पूर्ण जोमिखयुक्त छ भन्छौँ, दोस्रो यो जग्गा सुरक्षित छ बस्दा हुन्छ भन्छौँ र तेस्रो भौगर्भिक गतिविधिलाई ध्यानमा राख्दै केही पर्ख र हेरको स्थितिमा बस्न भन्छौँ।”
सरकारी निकायहरुले अध्ययनको तयारी अघि बढाइरहेका बेला भूकम्प प्रभावित जिल्लाका कतिपय मानिसहरु भन्छन्, सरकारले जतिसक्दो चाँडो अध्ययन पूरा गरी बस्न उपयुक्त भए वा नभएको टुंगो लगाइदेओस्।
अस्थायी बसोबास कष्टकर हुनुका साथै त्रासपूर्ण पनि भएको अनुभव छ भीमेश्वर नगरपालिका चाथली-३, दोलखाका बिच्छीकुमार थामीको।
उनी भन्छन्, “बस्न उपयुक्त छ कि छैन भन्ने अवस्था पनि छैन, बस्नु उपयुक्त छ भने यो भीरमाथि एकएक हातको चिरा छ, माथिको तीनवटै ढुंगा उँधो आउंला भन्ने हामीलाई त्रास छ, हुँदैन भन्ने जाने ठाउँ छैन।”
तर अधिकारीहरु भन्छन्, दीर्घकालीन बसोबासको दृष्टिकोणले अध्ययन गरिने भएकोले निचोडमा पुग्न समय लाग्न सक्छ।
त्यसका साथै उनीहरुको अपेक्षा छ, भूकम्प लगत्तै अस्थायी बसोबासका निम्ति जोखिमपूर्ण भनेर पहिचान गरिएका ठाउँमा पीडितहरु नबसिदिउन्।
साभारः विविसी