

राधिका मल्ल
२८ पुस कालिकोट । पचालझरना गाउँपालिकाले कर्णालीमै पहिलो पटक विद्यालयमा नयाँ प्रविधी जडान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी मोवाइलमार्फत विद्यालयको अनुगमन गर्ने गरी सफ्टवेयर सञ्चालन गरिएको हो । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ सफ्टवेयर मार्फत विद्यालयको अनुगमन सुरु गरेको छ ।
उक्त प्रविधीले गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने छ । रिभुलेसन टेक्लोलोजीको उत्पादन ‘स्कूल डायरी’ मार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर बिकासका लागि उक्त प्रविधी जडान गरिएको बताइएको छ । पहिलो पटक गाउँपालिकाका दुई वटा विद्यालयमा जडान गरिएको उक्त प्रविधी सबै विद्यालयमा लैजाने गरी काम थालिएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनु भयो।
सफ्टवेयरको प्रयोगले सामुदायिक विद्यालयको अनुगमनमा सहज हुने उनको विश्वास छ।‘अनुगमन प्रभावकारी नहुँदा विद्यालयको व्यवस्थापन प्रभावकारी हुन नसकेको हो’ ।अब प्रविधीको प्रयोगले अनुगमनमा समेत सहज हुने छ ।’ शिक्षाको गुणस्तर बढाउन पनि प्रविधी प्रभावकारी हुने अध्यक्ष सेजुवालले बताउनुभयो । विद्यालय पुगेर हाजिर गरी भाग्ने शिक्षकलाई नियन्त्रण गर्न पनि सफ्टवेयर उपयोगी भएको र ‘भौगोलिक रुपमा विकट जिल्लाहरुका लागि समयसापेक्ष प्रविधीको प्रयोग नै उत्तम हुन्छ, सफ्टवेयरको प्रभावकारिताका आधारमा अरु विद्यालयमा थप गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
रिभोलुसन टेक्नोलोजीका अध्यक्ष बिक्रम तिवारींले पचालझरनाजस्तो विकट क्षेत्रका लागि सफ्टवेयर प्रभावकारी हुने बतानुभयो । विकट क्षेत्रबाट नै प्रविधीको प्रयोग गरी शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकासंग साझेदारी गरिएको, जहाँ बढी समस्या हुन्छ, त्यहाँ प्रविधीको जरुरी पनि हुन्छ’ उहाँले भन्नुभयो ‘सरकारले शिक्षामा गरेको लगानी अनुसार शैक्षिक गुणस्तर कायम गर्न सफ्टवेयर सहयोगी हुनेछ ।’ उहाँले सफ्टवेयर जडानले मात्र सबै कुरा हल नहुने भन्दै प्रभावकारी प्रयागले नतिजा ल्याउन मद्यत गर्ने बताउनु भयो ।
प्रविधिको माध्यमबाट अभिभावकहरुले घरमै बसेर आफ्नो बच्चा विद्यालय पुगे नपुगेको जानकारी लिन सक्ने, गृह कार्य गरे नगरेको जानकारी लिन सकिने तथा शिक्षकहरु विद्यालयमा नियमित भइए नभएकोबारे जानकारी लिन सहज हुने छ । सफ्टवेयरमा विद्यार्थीको स्वास्थ्य अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाई क्षमता, अतिरिक्त क्रियाकलापमा रुची तथा सहभागिता, बहुप्रतिभा तथा परीक्षाको प्राप्ताङ्कसहितको विवरण प्राप्त गर्न सकिने जनाइएको छ ।
Milan Shrestha । २८ पुष २०७६, सोमबार १८:२२ बजे