२० असार, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास आयातका लागि बुलेट खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
आयल निगमले ग्यास आयातका लागि ४ सय ५० वटा बुलेट खरिद्को प्रक्रिया अगाडि बढाएको हो । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले खरिद प्रक्रिया अगाडि बढिसकेका कारण अबको ६ महिनादेखि एकवर्षको अवधिमा बुलेट आइसक्ने बताए ।
नेपालमा अहिले ग्यासको आयात भारतीय बुलेटमा गर्ने गरिएको छ । बैठकमा निगमका कार्यकारी निर्देशक खड्काले कम्तिमा ९० दिनलाई पुग्ने ग्यास भण्डारण गर्न निगमले हाल सञ्चालनमा रहेका ५५ वटै ग्याँस उद्योगलाई कम्तिमा ५ सय मेटि्रक टन ग्यास भण्डारण केन्द्र बनाउन निर्देशन दिएको पनि जानकारी दिए ।
बैठकमा उपभोक्ता अधिकारकर्मीहरु ज्योति बानियाँ, प्रेमलाल महर्जन लगायतले नारायणगढ-मुग्लिन सडक खण्ड अवरोध भएको कारण देखाएर पेट्रोलियम पदार्थमा कालोबजारी सुरु गरिएको भन्दै यस विषयमा तत्काल अनुगमन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।



Prawash Kumar Shakya । २० असार २०७३, सोमबार १४:१७ बजे