कोरोना विरुद्धको लडाईमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः राजमन्त्री रावत


२५ चैत्र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाईमा नेपाली सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आज मंगलबार गृहजिल्ला सुर्खेत आउनुभएका राज्यमन्त्री रावतले सञ्चारकर्मीहरुले कोरोना भाइरसबाट जोगाउन जनचेतनामूलक कार्यक्रम, सन्देश, समाचार प्रकाशन प्रसारण गरेर सञ्चार जगतले राज्यलाई ठूलो योगदान दिएको बताउनुभएको छ । आगामी दिनमा पनि सञ्चारकर्मीको तर्फबाट नागरिकलाई बचाउने अभियान निरन्तर लागिरहेने अपेक्षा लिएको बताउनुभयो ।

राज्यमन्त्री रावतले नेपाल पत्रकार महासंघ सुर्खेतलाई मास्क, पञ्जा र स्यानिटाईजर हस्तान्तरण गर्दै कोरोना विरुद्ध नेपाल पनि लडाईमा होमिएकोले सरकारले दिएको निर्देशनको पालना गर्न आम नागरिकलाई आग्रह गर्नुभयो । कोरोनाबाट बच्चकालागि अन्य देशबाट आएका नागरिकहरु क्वारेन्टाईनमा बस्ने तथा स्थानीयहरु घरभित्रै बसेर लकडाउनलाई सहयोग गर्न म आग्रह गर्दछु ।’ उहाँले भन्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले राज्यमन्त्री रावतले सुर्खेतका सञ्चारकर्मीको समस्यालाई दृष्टिगत गर्दै दिएको उपहार महत्वपूर्ण भएको बताउँदै मन्त्री रावतलाई धन्यवाद दिनुभयो ।