
जेठ ३१, काठमाण्डौं । मानव जीवन बचाउने महान अभियान रक्तदानको महत्वलाई उजागर गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज (नेस्वरस) ले २३औँ विश्व रक्तदाता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्री अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाप्रति समर्पित नेस्वरसको लोगो गीत श्रवणपछि कार्यक्रमको औपचारिक उद्घाटन पूर्वमहामन्त्री देवरत्न धाख्वाले निर्जला कर्माचार्यलाई रक्तसंकलन थैली हस्तान्तरण गरी गर्नुभएको थियो । वक्ताहरूले नेपालमा सुरक्षित र पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न स्वयंसेवी रक्तदाताहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै नियमित रक्तदान संस्कृतिलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका अवसरमा नियमित रूपमा रक्तसंकलन शिविर सञ्चालन गर्दै आएका असन सेवा समिति र संकटा क्लबलाई धन्यवाद तथा कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, आपत्कालीन अवस्थामा आवश्यक रगत उपलब्ध गराउँदै आएका On-Call Donor हरूमध्ये Rh Negative समूहका रसिल महर्जन, प्रमोद ठाकुर, शिशिर ज्ञवाली र वीरेन्द्र स्थापित तथा Rh Positive समूहका विक्की देउला, प्रकाशरत्न तुलाधर, प्रितमसागर कर्माचार्य र ज्ञानु तण्डुकारलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न तथा स्वयंसेवी रक्तदाताहरूलाई सांगीतिक माध्यमबाट प्रेरित गर्ने उद्देश्यले तयार पारिएको ‘रक्तदान जागरण गीत’ को समेत लोकार्पण गरिएको थियो । गीत निर्माणमा योगदान पुर्याउने वरिष्ठ संगीतकार तथा रेडियो नेपाल संगीत शाखाका पूर्वप्रमुख मनराजा नकर्मी, वरिष्ठ संगीत संयोजक जीवित जल्मी, मीनबहादुर गुरुङ, मोहन शाक्य, देवेन्द्र मान सिंह, गोविन्द आचार्य, अनिल श्रेष्ठ, शुलिन शाक्य, सतिस महर्जन, रत्नशोभा महर्जन, बीना भट्टराई, आशा नकर्मी, मीना नेपाली, लक्ष्मी पराजुली, कमला श्रेष्ठ, रोजी डंगोल श्रेष्ठ, रोजी श्रेष्ठ, सरिता शाही, एन्जिला श्रेष्ठ, रेकर्डिस्ट तथा मिक्सिङ विशेषज्ञ सुमन कपाली, गितारवादक मदन सिं नेपाली तथा बाँसुरीवादक जे.बी. लामा लगायतलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘हाम्रो रगत’ पत्रिकाको सामूहिक लोकार्पण पनि गरिएको थियो । पत्रिकाले रक्तदान आन्दोलन, रक्तदाता समुदायका गतिविधि तथा रक्तसेवासम्बन्धी जानकारी प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन गर्दै सभापति प्रेमसागर कर्माचार्यले रक्तदानलाई केवल सामाजिक सेवा मात्र नभई मानवता बचाउने अभियानका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालभर स्वयंसेवी रक्तदान आन्दोलनलाई थप सशक्त बनाउन समाज निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) नेपालका प्राविधिक अधिकृत डा. अरुण कुमार गोविन्दकर्णावर विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्याथोलोजिस्ट डा. रेखा मानन्धर, नेपाल स्वयंसेवी रक्तदाता समाजका प्राविधिक सल्लाहकार तथा रक्तविशेषज्ञ डा. विशेष पौडेल, मनमोहन कार्डियो भास्कुलर थोरासिक सेन्टर शिक्षण अस्पतालका वरिष्ठ सर्जन डा. प्रभात खकुरेल, टोखा चण्डेश्वरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन विभागका उप–प्राध्यापक भिक्षु आनन्द, रक्तसञ्चार सेवा केन्द्रकी सल्लाहकार डा. मनिता श्रेष्ठ राजकर्णीकार तथा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्जला कर्माचार्यद्वारा ब्याज वितरण गरिएको थियो भने संस्थाका आजीवन सदस्य सुमन खरेलले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।



Prawash Kumar Shakya । ३१ जेष्ठ २०८३, आईतवार १८:५८ बजे