
टेकेन्द्र विश्वकर्मा
२६ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले सुर्खेतमा अलपत्र अबस्थामा रहेका बिरामीको उद्दार गर्नुभएको छ ।
मुगु क्षेत्र नं. १ (क) बाट नेकपाका प्रत्यक्ष निर्वाचित सांसद परियारले घर फर्कन नपाउँदै सुर्खेतमा अलपत्र परेका आफ्नै निर्वाचन क्षेत्रका बिरामीको उद्दार गर्नुभएको हो ।कर्णाली प्रदेश सभा सदस्यहरु मध्ये सबैभन्दा कान्छा उमेरका सांसद परियारले आफ्नै खर्चले एम्बुलेन्स मार्फत २ जना बिरामीलाई आज मुगु पठाउनुभएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणकालागि सरकारले गरेको लकडाउनका कारण उपचारमा आउनुभएका छायाँनाथ रारा नगरपालिका-१३ लुम गाउँका डिल बहादुर कामी र छायाँनाथ रारा नगरपालिका -१० झाकोटका सुर बहादुर नेपालीलाई उद्दार गरी मुगु पठाउनुभएको हो ।
१५ दिनदेखी सुर्खेतको देउती अस्पतालमा उपचाररत नेपाली र नेपालगन्जको भेरी अस्पतालमा पेट सम्बन्धी रोगको उपचार गराई घर फर्कन लागेका कामी लकडाउनका कारण सुर्खेतमा अलपत्र परेका थिए । ‘हामीसँग भएको सबै पैसा उपचारमा सकियो, नेपालीले भन्नुभयो,अस्पतालमा बस्दा झनै खर्च बढ्यो।’ ‘माननीय ज्यूले ४५ हजार निजी खर्च गरेर हामीलाई मुगु पठाई दिनु भएको छ । उहाँलाई सधैं जनताले साथ दिइनै रहनेछन् ।’ आर्थिक अवस्था कमजोरीका कारण आफू गमगढी पुग्न नसक्ने अवस्थामा रहेका बेला सांसद परियारले गरेको सहयोग जीवनमा भूल्न नसक्ने नेपालीले बताउनुभयो ।
मुगु मै सडक दुर्घटनामा परि घाईते भएका नेपाली १५ दिनदेखि देउती अस्पतालमा उपचाररत थिए । अलपत्र अबस्थामा रहेका दुवै जनालाई सांसद परियारले उद्दार गर्नुभएको हो ।



Milan Shrestha । २६ चैत्र २०७६, बुधबार २२:३२ बजे