लकडाउनमा घरघरै तरकारी पु-र्याउँदै जनप्रतिनिधी


१० बैशाख, सुर्खेत । देश यतिखेर कोरोना भाइरसको महामारीले लकडाउनमा छ यस्तो अवस्थामा नागरिकलाई दैनिक उपभोग्य सामान किन्न पनि कठिन छ । यो समयमा विषेश गरेर ताजा तरकारी किन नागरिकलाई सकस परिरहेको छ । यो समयममा सरकारले घरबाहिर ननिस्किन भनेको छ । यही अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिका १ नं वडाले सस्तो मुल्यमा तरकारी घरअगाडी नै पुर्याइ दिन थालेको छ ।

जनप्रतिनिधीको यस्तो कार्यले नागरिकहरुले भन्ने गरेकाछन्  ‘यस्तो गरे पो जनप्रतिनिधि भए जनताहरूले धेरै सुख पाउँछन् । पैसा पनि बचत भयो । ताजा तरकारी पनि पाइयो ।’  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ कार्यालयले लकडाउन अबधिमा स्थानीय बासिन्दाहरूलाई ताजा तरकारी उपलब्ध गराउन शुरू गरेको छ । वडा अध्यक्ष गंगाराम सुनारले सक्रियतामा निम्न भाडामा बस्ने जनताहरुकालागि गाडि लिएर जिल्ला प्रशासन कार्यालयबाट पास बनाइ घरघरमा तरकारी पुर्याइएको बताउनुभयो ।

‘मंगलबासम्म खाद्यान्न वितरणमा व्यस्त भएकोले बुधबारदेखि वडाबासिलाई सुपथ मुल्यमा उपलब्ध गराउन शुरू गरेका हौँ ।’ वडा अध्यक्ष सुनारले भन्नुभयो, ‘हामिले प्रतिकिलो ३० रूपैयाँमा खरिद गरि सोही रकम मै वडाबासिहरूलाई बितरण गर्छौं ।’ उहाँका अनुसार बुधबार मात्रै करिव ६ क्विन्टल काउली वडाबासिलाई विक्रि गरिएको हो । बिहीबारदेखि आलु, बन्दा, टमाटर लगायतका विभिन्न तरकारीहरू ल्याएर वडामा सुपथ मुल्यमा बिक्री गरिनेछ । ‘प्रदेश सरकारले बाहिरबाट तरकारी आयात नगर्न निर्देशन दिएसंगै हामिले पनि स्थानीय ताजा उत्पादनलाई कृषकहरूसंग सम्पर्क गरि खरिद गर्छौं ।’ उहाँले भन्नुभयो, ‘हामीले वडा नं १० मा खपत नभएको तरकारी त्यहाँबाट समन्वय गरेर वडाबासिको घरघरमै पुर्यायौं । स्थानीय धेरै खुसी हुनुहुन्छ ।’

यस्तो अवस्थामा वडाको यो कामले किसानहरूलाई पनि राहत पुग्ने स्थानीयहरुले बताएकाछन् । स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर गौतमले आफुहरूले वडाबासिहरूको राहतको लागि स्वयंमसेवाको रूपमा तरकारी खरिद गरि सुपथ मुल्यमा वितरण गर्न वडालाई सहयोग गरिरहेकाे बताउनुभयो ।