२४ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभि८-१९) को महामारीलाई ध्यानमा राख्दै सरकारले चैत्र ११ गतेबाट देशमा लकडाउन गरेसँगै पश्चिम नेपालको सुदुरपश्चिम प्रदेशको कैलालीको गौरीफान्टा नाकाबाट कर्णाली आएका नागरिकहरुलाई खोज्न प्रहरी परिचालन गरिएको छ ।
नेपालका सिमानाका बन्द भएपछि गौरीफान्टा नाकामा नेपाल आउन जम्मा भएकाहरुको समूहमा रहेका एक युवामा कोरोना संक्रमण देखिएपछि सोही भिडबाट कर्णाली आएकाहरुलाई प्रहरीले खोज्न शुरु गरेको छ ।
कर्णाली आएकाहरुमध्यहरुबाट सबैभन्दा बढी सुर्खेतको बताइएको छ । ति मध्य सुर्खेतका ४०, कालिकोटका १६, सल्यान र रुकुमका १/१ जना रहेको बताइएको छ । सुर्खेतकाे लेकवेशी नगरपालिकाका १५, चाैकुनेका १०, वीरेन्द्रनगरका ८, गुर्भाकाेटका ५ र सिम्ताका २ जना छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कैलालीसँग समन्वय गरेर सुर्खेत आएका सबैजनाको विवरण मागेर गाउँगाउँमा प्रहरी परिचालन गरेको जनाएको छ ।
हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा नआएपछि पालिकाहरुकाे समन्वयमा खाेज्न प्रहरी परिचालन गरिएकाे जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले सुर्खेत आएका ४१ जनाकै खोजी गरिरहेको बताउनुभयो । ‘साँझसम्म कुन पालिकाका कति हुन भन्ने सबै विवरण आइपुग्छ’ रायमाझीले भन्नुभयो, ‘उहाँहरु मध्य काेही हिडेर आएकाे र काेही बसमा आएकाे बुझिएकाे छ ।’ त्यसमध्य कतिपय वीरेन्द्रनगरकाे खुलामञ्चस्थित क्वारेन्टीनमा बसेकाहरु हुन सक्ने भएकाले नाम संकलन गरिरहेकाे पनि रायमाझिले बताउनुभयो ।
यसैवीच गौरीफन्टा नाकाबाट वीरेन्द्रनगर ९ लाटीकोइलीका तीनजनालाई वडा अध्यक्ष सुरेश मानन्धरले प्रशासनबाट प्राप्त विवरणका आधारमा प्रहरीको सहायतामा खोजेर २ जनालाई खुलामञ्च क्वारेन्टाइनमा पठाएको बताउनुभयो । उहाँहरुलाई उद्दार गर्ने स्वास्थ्य सामान्य नै रहेको र एक जनाको खोजी जारी छ भेटिने वित्तिकै क्वारेन्टाइनमा पठाइने छ । साथै परिवारलाई पनि घरमै सुरक्षित साथ अरुसँग घुलमिल नभएर बस्न अनुरोध गरेका छौ ।’ गरिरहेकाे वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो ।



Prawash Kumar Shakya । २४ चैत्र २०७६, सोमबार १३:१३ बजे