१३ वर्षीया बालिकालाई बाँधेर कुटे


बीरगंज –२१ औं शताब्दीमा गाईगोरु जस्तो बाँधेर यातना दिनु घृणात्मक कार्य हो । तर, धनुषामा १३ वर्षीया बालिकालाई हातखुटटा बाँधेर दानवीय व्यवहार गरेर कुटपिट गरी यातना दिइएको छ ।

मानसिक र शारीरिक यातना दिने ४ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१८ भोइल घर भई धनुषा जिल्लाको लोहना बभनगाको उच्चमाविको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया काजल मण्डललाई मंगलबार स्थानीयले कुटपिट गरेका थिए ।

बालिकालाई कुटपिट गर्ने स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जितेन्द्र मण्डल, १८ वर्षीय रितेश मण्डल र १८ वर्षीय रामहृदय पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरिएको हो ।

साथीलाई भगाएको भन्दै पात फर्काए कुटपिट
काजल मण्डलसँग सोही विद्यालयमा अध्ययन गर्ने नितेश मण्डलको बहिनी छोटी कुमारी मण्डल टोलकै केटासँग भागी गएको थाहा पाएपनि आफूहरुलाई खबर किन नगरेको भन्दै काजललाई चारै जानले सामुदायीक रुपमा यातना दिएको पीडित पक्षले बताएका छन् ।

साथीलाई भगाएको भन्दै पात फर्काए कुटपिट काजललाई घरबाट बोलाई बाटोमा लागि हात बाँधेर कुटपिट गरिएको हो ।

कुटपिटबाट घाईते काजल मण्डलको जनकपुरस्थित अञ्चल अस्पतालमा उपचार भैइरहेको छ । पक्राउ परेका चारै जनालाई केहि सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

स्कुल ड्रेसमै हात बाँधी यातना, स्थानीय मुक दर्शक बने
महिलाहरुमाथि उत्पीडन र हिंसाविरुद्ध तराई मधेशमा सामाजिक सुधारको अभियान चलाइएको समयमा स्कुल ड्रेसमै हात बाँधी किशोरीलाई पाता फर्काएर चरम यातना दिइएको घटना सार्वजनिक भएको छ ।

काजललाई स्थानीय सुजित मण्डल, जितेन्द्र मण्डल, रितेश मण्डल र रामहृदय पण्डितले मंगलबार बिहान छ बजेदेखि भोइल गाउँकै एउटा सार्वजनिक दलानमा ११ बजेसम्म बाँधेर राखेका थिए ।

हात बाँधेर घण्टौं बालिकालाई चरम यातना
सोमबारै विद्यालयबाट फर्किने बेला केटासँग भागेकी छात्रा कहाँ गएर बसेको भन्ने जानकारी नदिएसम्म बाँधेर यातना दिइरहने उनीहरुले धम्की दिएका थिए ।

सोमबारै सुजित मण्डलले उनीहरु भाग्ने योजना बनाएको बारे किन खबर नगरेको भन्दै काजललाई घरमै पुगेर कुटपिट गरेका थिए । काजलले आफूलाई केही जानकारी नभएको भनिरहिन् ।

साँझसम्म खबर नगरे राति आएर आमाछोरी दुवैलाई उठाएर लाने धम्की दिएपछि काजल र उनकी आमा भगवती लुकेर छिमेकीको घरमा रात बिताएका थिए ।

बिहान घरमा आउने बित्तिकै ढुकेर बसिरहेका जितेन्द्र, रितेश र रामहृदयले आमाछोरी दुबैलार्ई नियन्त्रणमा लिएर घण्टौं यातना दिएको काजलले बताइन् ।

दिउँसो ११ बजे खाना खानका लागि आधा घण्टापछि फेरि हाजिर हुने शर्तमा खोलेपछि काजलले भाई सन्तोषलाई जनकपुरका महिला अधिकारकर्मीहरुलाई घटनाको जानकारी दिन पठाएपछि घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । सन्तोषले स्थानीय राजनीतिकर्मी मुन्नि दासलाई घटनाबारे बताएपछि सोमबारै जिल्ला प्रहरी कार्यालय धनुषालाई खबर भयो ।

प्रहरीको सहयोगले तत्काल काजललाई उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो ।

यातना दिएको फोटो देखाउँदा पनि प्रहरीले सुनेन
काजललाई बाँधेर यातना दिन थालिए लगत्तै भाई सन्तोषले नजिककै कपिलेश्वर प्रहरी चौकीमा खबर गरे पनि बेवास्ता गरियो । कपिलेश्वर प्रहरीले सन्तोषलाई बहिनीलाई बाँधेर राखिएको फोटो खिचेर ल्याउन अह्राए ।

सन्तोषले बल्लतल्ल पीडकलाई छलेर पछाडिबाट खिचेर ल्याएको फोटो देखाएपछि ‘पिटिरहेको फोटो खोई ?’ भन्दै चौकीका इन्चार्ज सई पन्नालाल साहले हप्काएर फर्काइ दिएको उनले गुनासो गरे ।