हाम्रोमा बहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुदैनः मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको आजदेखी शुरू भएको अर्ध वार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, हाम्रोमा बहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुदैन ।’ मुख्यमन्त्री कँडेलले मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भएपनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उहाँले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रर्दशन गर्नु पर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गर्नुभयो । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचिव विरेन्द्र कुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो । अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।