ट्राफिक जरीवानामा छलाङ, २५ रुपैयाँबाट एकैचोटि पाँच सय !


१७ वैशाख, काठमाडौं । ट्राफिक नियममा कडाईका नाममा सरकारले जरीवाना रकम अस्वाभाविक ढंगले बढाएको छ । नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट फाल हान्दै ५ सय पुगेको छ ।
सरकारले अब ट्राफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी नयाँ ऐन ल्याएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो ।
नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको ट्राफिक महाशाखाका डिआइजी प्रकाश अर्यालले जानकारी दिए । न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोहोर्‍याए क्रमश: १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ ।
यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो । तर अब बढेर ५०० रुपैंया पुगेको छ ।
पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको छ ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोहोर्‍याए क्रमश: १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ
१५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरु अत्यधिक छन् । ट्राफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फीबाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न मानेन् वा तोकिएको भन्दा बढी भाडामा लिए पनि १५ सय जरिवाना तिर्नु पर्ने हुन्छ ।
रु १००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
रु ५०० जरिवाना हुने कसुरहरु
१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको
रु १५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
ट्राफिकको सूचना एप्सबाट
काठमाडौंमा कतै सडकको यात्रामा निस्कनुअघि धेरैलाई पिर पर्ने कुरा एउटै हो, कतै ट्राफिक जाममा फसिन्छ कि भन्ने । त्यसो त ट्राफिक प्रहरीले कतिबेला कुन सडकमा जान रोकिरहेको छ भन्ने थाहा नपाउँदा पनि निकै सास्ति बेहोर्नु पर्ने हुन्छ । तर अब यि सबै कुराको जानकारी मोबाइलमा हेर्न सकिने भएको छ ।
ट्राफिक प्रहरी महाशाखाले ल्याउन लागेको ‘ट्राफिक पुलिस नेपाल’ नामको एप्सले तपाईंलाई ट्राफिक सम्बन्धी सबै जानकारी दिने छ । २० गते प्रहरी महानिरिक्षकमार्फत  सार्वजनिक हुन लागेको मोबाइल एप्सबाट ट्राफिक सम्बन्धी सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने महाशाखाले जनाएको छ ।
कुनै ठाउँमा ट्राफिक नियम उल्लंघन गर्नु भयो भने त्यसको सजाय कस्तो हुन्छ ? जरिवाना कति लाग्छ ? भन्ने पनि एप्सबाटै जानकारी लिन सकिने ट्राफिक महाशाखाको दावी  छ ।
यदि तपाईंले आफनो मोबाइल उक्त एप्स डाउनलोड गर्नु भयो भने नेपालभरी विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरणसमेत थाहा पाउन सक्नु हुनेछ ।

ट्राफिक संकेतका चिन्हहरु, लिखित परिक्षाको नमूना प्रश्नपत्र, नजिकको ट्राफिक प्रहरीको नाम र सम्पर्क नम्पर्क नम्बर पनि ‘ट्राफिक पुलिस नेपाल’ एप्समा हेर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ ।
साभारः अनलाइन खबर