
सुर्खेत, पुष १७ । प्रस्तावित राष्ट्रिय पोशाक दिवस–२०७५ को अबसर पारेर राष्ट्रिय मंगलवार(आज) पोशाक संरक्षण महा–अभियान नेपालको केन्द्रिय संयोजनमा सुर्खेत जिल्लामा पनि कार्यक्रम गरि मनाईयो ।
विगत ५ वर्ष देखि विभिन्न दवाब मूलक कार्यक्रम गर्दै आएको यो संस्थाले नेपालको राष्ट्रिय पोशाक खारेज गर्नु गम्भीर त्रुटि भएको र यसले नेपालीको पहिचान नै हराउने खतरा भएको ठहर गर्दै यो अभियान सञ्चालन गरेको हो ।
नेपालको साझा पोशाक अर्थात् राष्ट्रिय पोशाक संरक्षण तथा यसको पुनर्स्थापनाको लागि सुरु गरिएको यो अभियानको उद्देश्य भन्नु नै देशको औपचारिक राष्ट्रिय पोशाक को स्थापना गर्नु रहेको र यो आजको टड्कारो आवश्यकता भएको बताइएको छ । हरेक देशले विश्व सामु आफ्नो पहिचान र परिचयलाई चिनाउनको लागि कुनै न कुनै पोशाक लाई राष्ट्रिय पोशाकको रूपमा राखेको बेला नेपाल राष्ट्रिय पोशाक विहीन भएको छ। यसले देशको राष्ट्रिय अस्तित्व हराएको महसुस भएको पनि वक्ताहरुले बताएका थिए।
नेपाली राष्ट्रिय पोशाक कुनै बर्ग विशेषको नभई सबै नेपालीहरुको भावनात्मक एकताको प्रतिक भएकाले यसको संरक्षण र सम्बर्द्धनमा सबै लाग्नुपर्ने राष्ट्रिय पोशाक संरक्षण महा–अभियान सुर्खेतका संयोजक कमल लामिछाने (शर्मा)ले बताउनु भयो ।
कार्यक्रममा सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, व्यवसायी तथा समाजसेवि भद्र भण्डारी, समाजसेवि हरि उपाध्याय, स्थानीय विद्यालय, विभिन्न संघसंस्था, राज्यका विभिन्न व्यक्तित्व, स्थानीयवासी आदिको सहभागिता रहेको थियो ।



Milan Shrestha । १७ पुष २०७५, मंगलवार २०:३३ बजे