२६ असार, काठमाडौं । देश लकडाउन भए संगै बन्द भएको यातायातलाई सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
यातायातका कर्मचारी चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ छ भने सामाजिक दूरी कायम गर्न सिटमा एक जनामात्र राख्नुपर्नेछ साथै एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ । तर लामो दुरीका सार्वजनिक यातायात भने बन्द नै गरिएको छ ।
त्यस्तै सरकारले चालकबाहेक दुई जनासम्म मात्र यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइएको छ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउ पाइने छ ।
यो निर्णय संगै सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउएको छ । मन्त्री खतिवडाका अनुसार सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय छ । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैनन् ।
स्मरण रहोस निजी सवारी साधनमा भने जोरविजोर प्रणाली कायम नै राखिएको छ ।



Prawash Kumar Shakya । २५ असार २०७७, बिहीबार १७:१५ बजे