काँक्रेविहार र कट्कुवामा बृक्षारोपण


१७ साउन, सुर्खेत । आज सुर्खेतको वीरेन्द्रनगरको कटकुवा र काँक्रेविहार संरक्षित वनमा बृक्षारोपण गरिएको छ ।

काँक्रेविहार संरक्षण समूहको आयोजनामा काँक्रेविहार वन क्षेत्रको खाली ठाँउमा करिब ५ सय जातका विभिन्न विरुवा लगाइएको संरक्षण समितिका अध्यक्ष तारा राष्कोटीले जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बृक्षारोपणको शुभारम्भ गर्दै काँक्रेविहारको वरिपरि अब चाँडै नै पर्खाल लगाउने काम शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो । “अब काँक्रेविहारमा रहेका वन्यजन्तुहरुलाई पर्खाल लगाइएपछि सुरक्षित हुने र चरिचरणकालागि पनि राम्रो हुनेछ त्यसैले सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई म काँक्रेविहारको खाली क्षेत्रमा बृक्षारोपण गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा लाटीकोइलीका स्थानीय यूवाहरु तथा संरक्षण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै आज नै असिम अटो पार्ट्सको सहयोगमा सिद्धपाइला ओपन स्काउट क्र्यू सुर्खेतले वीरेन्द्रनगरको कट्कुवामा बृक्षारोपण गरेको छ । कट्कुवाको विपश्यना ध्यान केन्द्र (सावकको कट्कुवा तपोभूमी) नजिकै रहेको वनमा बृक्षारोपण गरेको छ ।

करिब ५० जनाको समूहले करिब २२० जात विरुवाहरु बृक्षारोपण गरेको आयोजनकले जनाएको छ । कार्यक्रममा सामाजिक सञ्जाल फेसबुकको समूहहरु मोटे ग्याङ्ग नेपाल,  तनाव छ जिन्दगी र कैंची ग्याङ्गको पनि सहभागिता रहेको थियो ।