मुख्यमन्त्री शाहीद्वारा प्रदेश स्थापना दिवसको शुभकामना


४ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ को शुभकामना व्यस्त गर्नुभएको छ ।

सन्देशः सर्वप्रथम, कर्णाली प्रदेश स्थापना दिवस तथा सहिद दिवस– २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रदेश प्राप्तिका लागि आफ्नो जीवनको प्रवाह नगरी आन्दोलनको अग्रमोर्चामा लड्दा लड्दै सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनमा घाइते हुनुभएका योद्धाहरुप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना एवं आन्दोलनमा सरिक हुनुभएका आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

संघीय व्यवस्था स्थापनाका लागि दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि समेत वलिदानीपूर्ण संघर्ष गर्नुपरेको तथ्य सवैलाई जगजाहेर छ । संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेशको रुपमा कायम गरिएको विरोध तथा कर्णाली प्रदेशवासीको लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना वीर सहिदहरुको वलिदान पश्चात् २०७२ भाद्र ४ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।

प्रदेश प्राप्तिका लागि वलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको सर्वविदितै छ ।

कोरोना भाइरस (कोभिड– १९) ले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामु छैन । त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रमहरु गरी यो दिवस मनाउन आग्रह गर्दछु । प्रदेश प्राप्तिका लागि आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्धताका साथ लागिरहेको विश्वास दिलाउन चाहन्छु ।

भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौतिक विकासमा पछाडि रहेको यस प्रदेशलाई तीव्र गतिको सामाजिक, आर्थिक र भौतिक विकास गरि अगाडि ल्याउन ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नाराका साथ प्रदेश सरकार अगाडि बढेको छ । प्रदेश स्थापना दिवस तथा सहिद दिवसको यो गौरवमय अवसरमा प्रदेश सरकारको यो अभियानमा सबै तह र तप्काको सहयोगका लागि पनि हार्दिक आव्हान गर्दछु ।

विश्व मानवजातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको कोरोना संकटले निश्चय पनि विकास र समृद्धिको हाम्रो अभियानमा केही अवरोध उत्पन्न गरेको छ । विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्नतर्फ पनि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेको छ ।

अन्तमा, प्रदेश स्थापना दिवस तथा सहिद दिवस–२०७७ ले वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हाँशिल गर्ने बाटोमा अघि बढ्ने प्रेरणा दिने विश्वाससहित पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।