विहे गर्ने उमेरमा विधवा, चार छोराछोरीको विचल्ली


famly-pजाजरकोट, ३० असार  । सानो झुप्रो । त्यही पनि पानी चुहिने । त्यही झुप्रोमा ५ जनाको परिवार । घर भित्र न त खानाको जोहो छ न आनन्द सँग सुत्ने ओछ्यान । ज्याला मजदुरी गरेर अन्न ल्याएका दिन चुल्हो बल्छ नत्र भोकै सुत्नु पर्छ जाजरकोट ढिमे २ मालुमेला बस्ने रुपा विश्वकर्माको वास्तविक कथा हो यो ।

रुपाको १५ बर्षको उमेरमा डोल्पा ल्हा का बुद्धिबहादुर नेपाली सँग विहे भयो । ३ छोरी १ छोरा जन्मिए । दुःख सुख गरेरै भएपनि परिवार जेनतेन चलिरहेको थियो । विवाह भएको सात बर्षमै श्रीमानको मृत्यु भयो ।

मृत्यु पछि घरपरिवारको आर्थिक अवस्था पनि निकै नाजुक भएका कारण छाक टार्न पनि समस्या भएपछि रुपा चारजना लालावाला लिएर माईतीघर जाजरकोट ढिमे आईन तर यहाँ पनि उनलाई गास र वासको समस्याले छोडेन ।

माईतीको अवस्था पनि उस्तै जग्गा जमिनको नाममा एक टुक्रो पाखोवारी मात्र । दैनिक ज्याला मजदुरी गरेर खाने । तै पनि छोरीलाई वस्ने ओत दिए माईतीले तर न त हातमा सीप छ न काम गरौ भने खेतवारी नै छ । म कसरी यी केटाकेटी पालौं रुपाले दुःख प्रकट गदै भनिन यी केटाकेटीको पढाई खर्च कहाँबाट जुटाउँ ।

 म त साह्रै समस्यामा परे । पढ्ने उमेरमा सानैमा विहे गरियो । विहे गर्ने उमेरमा विधवा हुनु पर्यो अझ साथमा रहेका चार जना छोराछोरीको लालनपालन र पढाईलेखाई कसरी गरुँ ? जेठी छोरी पार्वती ९ बर्ष , माईली छोरी चन्द्रा ८ बर्ष , कान्छि छोरी रेखा ४ बर्ष र छोरा अनिल ३ बर्षका भए ।

उनले भनिन गाँउलेहरुको गहँ मकै धान गोड्ने रोप्ने काट्ने काम गर्छु कसैले अन्न दिन्छन कसैले पैसा दिन्छन त्यसैवाट गुजारा चलाईरहेकी छु । भर्खर २५ बर्षको भएँ श्रीमान वितेको ३ बर्ष भो ।

जिन्दगी अझै धेरै लामो छ कसरी वित्ने हो केही थाह छैन उनले भनिन् । कसैले सीपमुलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने ब्यवस्था मिलाईदिएको भए आफ्ना लागी ठुलो राहत हुने उनले बताईन ।

मिठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागी सपना भए दुई छाक गास र एक सरो शरिर ढाक्ने टालोको लागी संघर्ष गरिरहनु परेको छ रुपाले दुःख सुनाउदै भनिन् ।

साभारः अनलाइन सुर्खेत