शुल्क घटाउन माग सहित ज्ञापनपत्र


२१, आश्विन, बुधबार ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीहरुले मासिक शुल्क घटाउन माग गरेका छन् । मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पस अन्तरगत पत्रकारिता र आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीहरुले शुल्क घटाउनु पर्ने माग राखेका हुन् ।

स्नातकोत्तरको पहिलो सेमेस्टरमा अध्ययनरत २४ जना विद्यार्थीहरुले बुधबार क्याम्पस प्रमुख तेजविक्रम बस्नेतलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गरेका छन् । विश्वविद्यालयले मासिक शुल्क चार हजार पाँच सय तोक्दा पत्रकारिता गरेर पढ्दै गरेका विद्यार्थीहरु मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘विद्यार्थीको आर्थिक क्षमताभन्दा बढी भएकोले यति धेरै शुल्क हामी तिर्न सक्ने अवस्थामा छैनौं’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि नै डिन कार्यालय र पत्रकारिकता र आमसञ्चारका विद्यार्थीबिचको छलफलम शुल्क घटाउने सहमतिमै भर्ना गरेकाले शुल्क घटाउन अटेरी गरेकोमा हाम्रो आपत्ती छ ।’

शुरुमै पहिलो सेमेस्टरको शुल्क तिरिसकेकाले अर्को सेमेस्टरमा मासिक दुई हजार शुल्क कायम गर्न विद्यार्थीहरुको माग छ । विश्वविद्यालयले शुल्क नघटाएमा चरणबद्ध आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।