शव संकलन कार्य सुरू, हेलिकप्टरमार्फत पोखरा लगिने


१३ फागुन -म्याग्दीको दाना—२ सोलीघोप्टेको भीरमा दुर्घटनाग्रस्त भएको तारा एयरको ट्वीनअटर विमानमा सवार यात्रुको शव संकलन बिहीबार विहानबाट पुनः सुरु गरिएको छ। बुधबार साँझ भएको हिमपातले अवरुद्ध भएको खोजीकार्यलाई विहानैदेखी सुरु गर्ने तयारी भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए।’मौसममा केही परिवर्तन आएको छ । हेलिकप्टर जाने तयारीमा छन्’, प्रजिअ पाठकले भने। उनका अनुसार अहिलेसम्म १९ वटा शव फेला परेका छन्। हेलिकप्टरमार्फत दानासम्म ल्याएर त्यहाँ ठूलो हलिकप्टरको प्रयोग गरी सवै शवलाई पोखरा लैजाने तयारी भइरहेको उनले बताए। 
दुर्घटनास्थल अग्लो डाँडाको खोचमा रहेको र हिमपात भएपछि खोजीकार्यमा गएका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहितको टोलीले स्थायी संरचना तयार पारेर बसेको छ। म्याग्दीको सदरमुकाम बेनी र मुस्ताङको सदरमुकाम जोमसोमबाटसमेत निकै विकटमा रहेको घटनास्थलमा सबैभन्दा पहिले स्थानीयबासी पुगेपछि खोजीकार्यमा सहज भएको थियो। 
अहिलेसम्म दुई बालबालिका, एक महिला र दुई पुरुषको शव चिन्न सक्ने अवस्थामा रहेपनि अन्यको टाउकोसहित शरीरका विभिन्न भाग जलेर चिन्न नसकिने अवस्थामा रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए। ‘घटनापछि उद्दारमा निकै समस्या भइरहेको छ। ठूलो जनशक्तिको परिचालन गरेर भएपनि शव संकलन गरेर पठाउँदैछौं’, उनले भने। यासागुन्बुसहितका बहुमूल्य जडिबुटी पाइने घटनास्थल म्याग्दीको दाना गाविसबाट करिव ७ घण्टाको दूरीमा पर्छ। घटनास्थलमा नेपाल प्रहरीका एसएसपी छविलाल बन्जाडे, म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्कासहित नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित स्थानीयबासी रहेका छन्।

साभारः नागरिक न्यूज