
७ कार्तिक, सुर्खेत । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि हुने मानिन्छ । घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक शुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।
काठमाण्डौंको हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहिआएको छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यसैवीच वडा दशैं २०७७ शुरु भए संगै आज सुर्खेतको वीरेन्द्रनगरमा पनि विधी पूर्वक फूलपाती भित्र्याइएको छ । वीरेन्द्रनगरमा रहेको (सैनिक महाविद्यालय) मंगलगढी दशैंघरबाट फूलपाती लिएर जिल्ला प्रशासन कार्यालयमा लगिने चलन रही आएको छ । प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले पुजाआजा गर्ने चलन रहेको छ ।
त्यस्तै सुर्खेत जिल्लामा शक्तिका देवी भनेर चिनिने गंगामाला देउती बज्यैको मुल मन्दिर काँक्रेविहारको दक्षिण तर्फको देउती कुनाबाट पिपिरामा स्थापित देउती बज्यै मन्दिरमा हरेक बर्ष जस्तै यसबर्षपनि फूलपाती भित्र्याइएको छ ।



Prawash Kumar Shakya । ७ कार्तिक २०७७, शुक्रबार ११:३४ बजे