भैरहवा विमानस्थल विस्तार कार्य तीव्र


भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारको आधाजसो काम यही आर्थिक वर्षभित्रै पूरा हुने विमानस्थल विस्तार आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार अहिले विमानस्थल विस्तारका लागि सबैजसो काम एकै गतिमा अगाडी बढाईएको छ।

काम यही गतिमा भए अबको करिब डेढ वर्षपछि विस्तारित विमानस्थल संचालनमा आउन सक्छ।

लक्ष्य

आयोजनाले विमानस्थल निर्माण कार्य पूरा हुने भनि अहिले लिएको लक्ष्य यस अघिको लक्ष्यभन्दा करिब ६ महिनाले ढिलो हो।

तीन वर्षभित्रै निर्माण सक्ने भन्दै २०७१ को माघ देखि काम शुरु गरीएकोमा भूकम्प र त्यसपछिको तराई आन्दोलनका कारण निर्माण कार्य प्रभावित भएको बताइएको थियो।

अहिले भने विमानस्थलको सबै जसो काम शुरु गरिएको र विमानस्थलले प्रारम्भिक आकार लिइसकेको आयोजना प्रमुख ओम शर्माले बताए।

“तीन किलोमिटर लामो रनवेका लागि माटो थिचेर बनाइने काम भएको छ। टर्मिनल भवन निर्माणको पनि काम भइरहेको छ,” उनले भने

निर्माणको क्रममा मुआव्जाका समस्या देखि घाघरा नदी फर्काउने काम केही गाह्रो देखिए पनि सो काम पनि लक्ष्य अनुसार नै सकिएको आयोजनाले जनाएको छ।

विमानस्थल निर्माणको ठेक्का एक चिनियाँ कम्पनीले पाएको छ।

मुलुकको आन्तरिक कारणले काम लम्बिंदा खर्च बढ्न सक्ने अनुमान गरिए पनि कामले गति लिंदै गर्दा निर्धारित रकममै काम सम्पन्न हुन सक्ने प्रमुख शर्मा बताउँछन्।

“लगभग निर्धारित समयमै सकिने देखिन्छ। थोरै ढिला त हुनसक्ला तर ठेकेदारले पनि अहिलेसम्म समयमै सक्ने छनक दिएका छन्,” शर्माले बताए।

विमानस्थल निर्माणका लागि करिब नौ करोड अमेरिकी डलर लाग्ने अनुमान गरीएको छ।

सो रकम एशियाली विकास ब्याँक अन्तर्गत दक्षिण एशिया पर्यटन पूर्वाधार विकास परियोजना मार्फत ऋणको रुपमा उपलब्ध गराइएको छ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको विकल्पको रुपमा बनाउन लागिएको गौतमबुद्ध विमानस्थललाई मध्येपूर्वी क्षेत्रका उडानका लागि प्रयोग गर्ने गरी योजना बनाइएको बताइएको छ।

साभार: विविसी