राराताल कर्णाली मात्र नभएर मुलुककै सम्पत्ति : मन्त्री बस्नेत


१२ माघ, सुर्खेत ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुगु राराताल कर्णाली मात्र नभएर मुलुककै सम्पत्ति भएको बताउनु भएको छ  ।

रारा राष्ट्रिय निकुञ्जको अध्ययन अवलोकन गर्न आज मुगुको रारा पुगेका मन्त्री बस्नेतले प्रकृतिको अनुपम उपहार राराताल कर्णाली मात्र नभएर मुलुककै सम्पत्ति भएको बताउनु भएको छ ।

‘ स्वर्गकी अप्सरा को उपमा पाएको रारा स्वर्गको एक टुक्रा भएको र यसको  सौन्दर्यता बचाइराख्न सक्नेहो भने  आन्तरिक तथा वाह्य पर्यटकको  ओइरो लाग्ने बताउनु भएको छ । आकर्षणको केन्द्रबिन्दु रहेको रारा लाइ बचाइराख्न  निकुञ्ज परिवार र स्थानीय सरकार लाग्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

मन्त्री बस्नेतले  वन क्षेत्रको सुरक्षा , निकुञ्जको अवस्था  र रारातालको व्यवस्थापनका बारेमा निकुञ्जका कर्मचारी तथा सेनासँग जानकारी लिँदै अब सङ्घीय सरकारले निकुञ्ज क्षेत्रका होटललगायत सुरक्षालाई पनि व्यवस्थापन गर्ने बताउनु भयो ।

रारामा व्यवसाय संचालन गरीरहेका होटेलले रु २४ हजार मात्र वार्षिक राजश्व तिर्ने गरेको बताउदै व्यवसायीले त्यहाँ प्रयोग गरिने पालको पैसा अब राष्ट्रिय निकुञ्जले उठाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँ शुक्रबार डोल्पाको से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको पनि निरीक्षण गर्नु भएको थियो  ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको पर्यटकीय महत्वपूर्ण गन्तव्य मानिएकोले राराताललाई आकर्षण केन्द्र बनाउन प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ गरिसकेको बताए ।