
१५ मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्क आजदेखी सञ्चालनमा आएको छ ।
२०६८ सालबाट निर्माण कार्यको थालनी शुरु गरिएको वीरेन्द्रनगर सिटी बसपार्क आजदेखि सञ्चालनमा आएको हो । २०६८ सालमा निर्माणको जिम्मा पाएको कम्पनीले राम्रो संग काम गर्न नसकेपछि बसपार्कको २०७२ माघदेखि निर्माणकार्य अघि बढेको थियो ।
९ बर्षमा संचालित बसपार्क निर्माणको बीचमा दुई पटक म्याद थप गरेपछि गत वर्ष असारमा बसपार्क निर्माणको काम सकिएको थियो । उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको ऋण तथा अनुदान सहयोगमा बसपार्कको बनेको हो । नवनिर्मित बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल यात्रुलाई बस्नका लागि टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन निर्माण गरिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीका अनु सार ६ करोड ८२ लाख ७५ हजार ८७९ रुपैयाँमा सिटी बसपार्क निर्माण सम्झौता भएपनि पछि मूल्य समायोजन सहित ७ करोड ४४ लाख रुपैयाँ लागेको छ ।
बसपार्क सञ्चालन भएसंगै वीरेन्द्रनगर नगरपालिकाले ३१ लाख १५ रुपैया आम्दानी हुने भएको छ । नगरपालिकाले सिटी बसपार्क सञ्चालन सम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ । सिटी बसपार्क सञ्चालनको जिम्मा पाएको भक्तपुरको पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिनुपर्ने हुन्छ । बसपार्कमा निर्मित पसल सटरहरुको भाडा निर्धारण गर्ने जिम्मा कन्स्ट्रक्सनलाई नै दिइएको छ ।



Prawash Kumar Shakya । १५ मंसिर २०७७, सोमबार १४:२४ बजे