बर्दियामा ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रम सम्पन्न


पवन जायसवाल ।

नेपालगञ्ज (बाँके) समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रम आज (सोमवार) मन्जुश्री बाटिका माध्यामिक विद्यालयमा सम्पन्न गरेको छ ।

बर्दियाको समुदायमा वन्यजन्तुको ओहोरदोहोरले गर्दा मधुवन नगरपालिका वार्ड नं.–२ क्षेत्रमा बालबालिका सुरक्षितसंग हिडडुल गर्नमा समेत प्रभाव पारेको पाइएकोले विद्यालय सम्वाद कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरु विद्यालय जाँदा वा फर्किंदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययन गर्नमा  ठूलो असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक विमल ज्ञवालीले बताउनुभयो ।

‘वातावरणीय न्याय र जवाफदेहिताका लागि विद्यालय सम्वाद’ कार्यक्रममा ज्ञवाली मात्र नभई अन्य सहभागीले समेत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुले विद्यालयभित्र र बाहिर सचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिएका हुन । युएसएड नेपालको आर्थिक सहयोगमा द एसिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रमको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत विद्यालय सम्वाद गरिएको सीसीएनले जनाएको छ ।

विद्यालयस्थित वंगालीपुर क्षेत्रमा हात्ती, बाघ र बाँदर लगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्थानीय सुन्दरी थारुले बताउनुभयो । ‘वन्यजन्तुको डरले वालबालिकाहरु विद्यालय जानसमेत नमान्ने स्थिति छ ।’ उहाँले भन्नुभयो । वन्यजन्तुबाट मानविय, खेतीबाली र पशुधनमा क्षति भए राहत वा क्षतिपुर्ति के पाइन्छ र कसरी पाउने नीतिगत व्यवस्था रहेको छ त्यस बारे थाहा नपाउँदा पनि लामो समय सम्म भौतारिनु परेको स्थानिय अगुवा कृष्ण परियारले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षिका पवित्रा सिजालीले चितुवाले विद्यार्थीलाई आक्रमण गरेको घटना सम्झिदै बिहान बेलुका ट्युशन पढ्न जाने विद्यार्थीहरु समस्यामा पर्ने गरेको दुःखेसो पोख्नुभयो । स्थानीय कालुराम थारुले राहत तथा क्षतिपूर्तिको प्रक्रिया थाहा नहुँदा समस्यामा परेको बताउनुभयो ।

विद्यालय संवादको सहजीकरण गर्दै वरिष्ठ पत्रकार जनक नेपालले वातावरणीय न्याय, निकुञ्ज प्रभावित क्षेत्रका बासिन्दाका मुद्दा र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागीहरुसँग छलफल गर्नु भएको थियो ।

प्रभावित क्षेत्रका बासिन्दाहरुले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिकाबारे अनविज्ञता जनाउँदै सचेतना अभियान चलाउँनुपर्ने आवश्यकता औल्याएका थिए । सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले विद्यालय संवादले बालबालिकाहरुको जीवनशैली बातावरणमैत्री बन्दै जाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले वालवालिकाहरुले घरमा पुगेर अभिभावकलाई समेत सजिलै कुरा बुझाउन सक्ने भएकाले पनि यो कार्यक्रमले सहयोग पुग्ने वताउनुभयो ।

विद्यालय संवाद कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत ३४ जनाको सहभागिता रहेको थियो ।