
१३ फागुन, काठमाण्डौं । कर्णाली करिडोर अन्तर्गतको सिमकोट खार्पु खण्डको कुरिल्ला क्षेत्रमा पर्ने ढेस्ने भिर छिचोल्न निर्माण कम्पनी सफल भएको छ । बत्तीस मिटर अग्लो चट्टानी भिरलाई निर्माण कम्पनीले मेशिन (बकेट) लगाएर उक्त भिरलाई फुटाउन सफल भएको हो ।
करिडोरको सिमकोट खार्पु खण्डको बाह्र किलो मिटर क्षेत्रमा सबै भन्दा कडा चट्टानी भागका रुपमा रहेको ढेस्ने भिर मेशिन लगाएर छिचोल्न सफल भएको अंक कलेन्द्र माउण्टेन जेभीका स्थानीय प्रतिनिधि नर भण्डारीले बताउनुभयो ।
बिष्फोट गर्ने मनस्थिती निर्माण कम्पनीले बनाएको भएपनि मेशिनबाटै सो भिर फुटाउन सफल भएको हो । दुई महिना लगातार मेशिन लगाएर उक्त भिर छिचोलिएको उहाँले बताउनुभयो । तीन सय मिटर लम्वाई र बीस देखि बत्तीस मिटर अग्लाई भएको सो कडा चट्टानी भाग काम गर्न निक्कै असजिलो भएको उहाँले सुनाउनुभयो । चट्टानी भाग भएको हुँदा पहिले चार मिटर बाटो छिचोलेर गाडी गुड्दै आएका थिए ।
निक्कै मिहेनेतका साथ उक्त भिर फुटाउने कामले सफलता पाएको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ । भिर छिचोल्ने काम पुरा भएको र अब चट्टानी भागलाई मिलाउन भने बाँकी छ । केही भागलाई सफा गरेर हाल एकतर्फी रुपमा सिमकोटबाट खार्पुसम्म गाडी गुड्दै आएका छन् । यसअघि माथिबाट चट्टान खस्नेहुँदा डराई डराई गाडी गुडाउनु पर्दै आएकोमा अहिले भने ढुक्कका साथ गाडी गुडाउने गरेको जीप चालक जोर भण्डारीले बताउनुभयो ।
गोरखापत्रअनलाइनबाट



Prawash Kumar Shakya । १३ फाल्गुन २०७७, बिहीबार १८:०५ बजे