अविरल ढकाल
फागुन २०, जुम्ला ।
पहिलो पटक जुम्लामा बिरालोलाई रेविज विरुद्धको सुई लगाइएको छ । कुकुर लगायतका अन्य पशुलाई रेविजको सुई लगाइने गरेको भएतापनि बिरालोलाई भने जिल्लामै पहिलो पटक सुई दिइएको हो । जिल्ला पशुसेवा कार्यालय र विभिन्न पशुसेवा केन्द्रद्धारा जिल्लामा संचालित घरपालुवा भुस्याहा कुकुरलाई रेविजको सुई लगाउने अभियानका क्रममा कनकासुन्दरी गाउँपालिका ४ चौकीका पुन्नप्रसाद आचार्यले बिरालोलाई पनि सुई लगाएका छन् ।
गत बिहीबार पशुसेवा केन्द्र कनकासुन्दरीमा कुकुरलाई रेविजको सुई लगाउने क्रममा पुन्नप्रसाद आचार्यले बिरालो काखीमा च्यापेर सेवा केन्द्रमा ल्याएको देख्दा सबै आश्चर्य चकित भएका थिए । कुकुरलाई सुई लगाउन लाइनमा बसेका स्थानीय पहिलो पटक बिरालोलाई रेविजको सुई लगाएको देख्दा एकछिन गदगद हाँसेर मजाक पनि गरेको आचार्यले भनाई छ । लाइनमा बसेका सबैलाई पर्खाउँदै बिरालोलाई सुरुमै सुई लगाइएको थियो ।
बिरालोलाई सुइ लगाउन ल्याएकोमा पशुसेवा प्राविधिकले धन्यबाद दिएपछि आचार्यले पनि खुसी व्यक्त गरे । उनले भने, ‘मेरो ५ जनाको परिवार छ, घरमा जे पाक्यो त्यसमा बिरालोले मुख हालि दिन्छ, त्यसैले बिरालो संगै घर पविारलाई पनि रेविजको रोग नलागोस् भनेर विरालोलाई रेविज विरुद्धको सुई लगाउन ल्याएको समेत बताए ।
जिल्ला पशुसेवा कार्यालयका अनुसार घरपालुवा जनावरमध्ये बिरालोलाई रेविजको सुई लगाउने कार्य यसअघि जिल्लामा शून्य थियो । अन्य जनावरभन्दा मांसहारी बिरालोलाई अझ छिटो रेविज संक्रमण हुनसक्ने पशुविज्ञको भनाई छ ।
‘हामीले पटकपटक सबै घरपालुवा पशुपंक्षीको स्वास्थ्य चेकजाँच तथा रेविज विरुद्धको सुई लगाउन स्थानीयलाई आग्रह ग¥यौं तर उनीहरु आउँदैनन्, रेविज भएको पशुपंक्षीबाट अरुमा छिट्ट असर देखा पर्ने भएकाले सबैले समयमै सचेत हुन जरुरी भएको पशुसेवा केन्द्र कनकासुन्दरीका नायव पशुसेवा प्राविधिक शान्तीकुमारी बुढाले भनिन् ।
बुढाका अनुसार कनकासुन्दरी गाउँपालिकामा मात्र यस पटक एक बिरालो सहित ३ सय ५० बढी कुकुरलाई रेविजविरुद्धको सुई लगाइएको हो । ‘अझैं कैयौं कुकुर र बिराला छुटेका छन्, घरदैलोमै पुग्न सकिएको छैन, सेवा केन्द्रमा आउँदैनन्, यो कार्यक्रम वर्षमा एक पटक मात्र संचालन हुने उनले बताइन् ।



Milan Shrestha । २० फाल्गुन २०७४, आईतवार १२:०८ बजे