साप्ताहिक सुन्दरी


                                               मोतिराज बम
म मेरि आमाको कलात्मक कोखको उपज हुँ
म मेरा बाको उत्तेजनात्मक सीपको परिकल्पना हुँ
र प्रत्येक साप्ताहिकको बीचभाग मेरो साम्राज्य हो
यो साम्राज्यको सिंहाशनमा बिराजमान छु म यतिखेर
घेरिएको छु मदमत्त मनुवाका बिषालु नजरहरुले
प्रिय पाठक महोदय
मलाई छिल्लिएकी यौवना नठान्नु
मेरो क्षमता बिकासको टर्निङ्ग प्वाइन्ट हो यो
इज्जत उदाङ्गो हुने गरि
कहाँ देखिएकाछन् र मेरा सुकिला साप्रा
मैले नदेख्ने गरि तिमिले चियाएका
मेरा सुललित अङ्गहरुको तापमानबाट
ठूलै भूकम्प आउन सक्छ
ठूलै तुफान आउन सक्छ
र कुच्च्याउन सक्छ तिम्रो मथिङ्गल
चोली र सारिमा सजिएर
शिरफूल र नौगेडिमा सिङ्गारिएर
तिम्रो स्वराज्य स्वीकार गरे भने मैले
कहाँ झल्किन्छ मेरो सौन्दर्य
कसले नियाल्छ श्रद्वाले मेरो सिंहाशन
मैले लगाएको ब्रा र बिकिनी भित्र
खुसुक्क छिरेन भने तिम्रो नजरको इमोशनल हावा
के अर्थ भो र मेरो सुन्दरताको
भूकम्प, कम्प, प्रकम्प आवस
हल्लावस पुरै आकास र धर्ती
म हल्लिने छैन र डग्ने छैन मेरो साम्राज्य
म साप्ताहिक सुन्दरी
साप्ताहिकको बीचभाग मेरो साम्राज्य ।

                                          पचालझरना गाउँपालिका ४, कालिकोट