कोरोना संक्रमितलाई झोलिलो र पोसिलो खाजा वितरण (भिडियोसहित)


२२ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्रगतिमा फैलिरहेको छ । यसरी संक्रमण फैलिरहँदा संक्रमितको उपचारकोलागि अक्सिजनको अभाव हुँदा समस्या उत्पन्न भैरहेको छ ।

यसरी अक्सिजन अभावको समस्या शुरु हुँदै गर्दा अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका छन्।

कोरोना भाइरसको जोखिम न्यूनीकरणमा जिम्मेवारी र उत्तरदायित्व बहन गर्न सामाजिक सञ्जाल फेसबुक मार्फत सुर्खेती कोभिड–१९ सेल्फ हेल्प समूह बनाएर यूवाहरुले उक्त अभियान सुरु गरेका हुन् ।

सुर्खेतका तीन युवाहरु पत्रकार सुदीप पुरीको नेतृत्वमा धर्मराज आचार्य र मिलन श्रेष्ठले शुरु गर्नुभएको अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार रूपैयाँ अभियानमा करिब दुई सय बराबर व्यक्ति जोडीसक्नुभएको अभियानका यूवा धर्मराज आचार्यले बताउनुभयो ।

‘मानवीय र सामाजिक उत्तरदायित्व पूरा गर्न हामीले यो अभियान सुरु गरेका हौं,’ अभियानका नेतृत्वकर्ता सुदीप पुरीले भन्नुभयो, ‘हाम्रो जिम्मेवारी भनेको आलोचना गर्ने मात्र होइन। संकटमा सहयोग गर्नु पनि हो।’ यस्तो महामारीको संकटका बेला नागरिकले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । अभियानमा अहिलेसम्म हामीले करिब साढे तीन लाख रूपैयाँ संकलन गरिसकेका छौं ।

हामीले यो अभियान मार्फत अस्पताल र होमआइसोलेसनमा अक्सिजन नपाएकालाई सहयोग गरिरहेको अर्का अभियान्ता मिलन श्रेष्ठले बताउनुभयो । यो अभियान सुरु गर्नमा लेखा अधिकृत सुशिल केसी र पत्रकार नगेन्द्र उपाध्यायको पनि महत्वपूर्ण भूमिका रहेको छ । साथै हामीलाई यो अभियानमा खगेन पुरी र पत्रकार प्रवाश कुमार शाक्य पनि जोडिनु भएको छ । श्रेष्ठले भन्नुभयो ।

यो अभियान हामीले  कोरोना संक्रमित भएर अहिले कोरोनालाई जित्नुभएका सुशिल केसी र पत्रकार नगेन्द्र उपाध्यायले अस्पतालको समस्या बाहिर ल्याएर शुरु गरेका हौं अभियानकर्ता आचार्यले बताउनुभयो  । ‘एकजनाले एक हजार मात्र सहयोग गरे पुग्छ,’ ‘एक हजारले कसैको ज्यान जोगिन्छ भने एक हजार किन सहयोग नगर्ने?’ उहाँले भन्नुभयो ।

यसैवीच यही समूहले आज कर्णाली प्रदेश अस्पतालमा रहेका कोरोना संक्रमित, संक्रमितका कुरुवा र स्वास्थ्यकर्मीहरुकालागि झोलिलो र पोसिलो खाजा वितरण गरेको छ । यो कार्यकालागि आज हामीलाई श्री सत्यसाई केन्द्र सुर्खेतले सहयोग गरेको अभियानकर्ता मिलन श्रेष्ठले बताउनुभयो ।

यो अभियानमा सहयोग गर्न चाहनेले मिलन श्रेष्ठ सुदिप पुरी र धर्मराज आचार्यको नाममा रहेको खाता नम्बर ०६५०८७७४८१२०५००१ सनराइज बैंक सुर्खेतमा रकम जम्मा गरेर यो अभियानमा जोडिन सकिने अभियान्ता पुरीले बताउनुभयो ।