
११ जेठ, सुर्खेत । हिजो बसेको कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ ।
बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानून, यूवा तथा खेलकुद मन्त्री सीता कुमारी नेपालीलाई तोकेको छ । त्यस्तै प्रदेश सरकार अन्तर्गतका निकायहरुबाट गत आ.व. ०७६/०७७ को वार्षिक योजनामा समावेश भई कार्य भएका तर कोभिड-१९ महामारीका कारण भुक्तानी हुन नसकेका योजनाहरुको प्राविधिक मूल्याँकन गरी यस आ.व. को स्वीकृत बजेटबाट भुक्तानी दिने पनि निर्णय गरेको मन्त्री नेपालीले जानकारी दिनुभयो ।
बैठकले कोभिड-१९ महामारी रोग प्रतिकार्य ब्यवस्थापनमा आईपर्ने तत्कालका शव ब्यवस्थापन, अक्सिजन ब्यवस्थापन तथा समुदाय परिचालन लगायतका सहयोगका कार्यहरु संचालनका लागि मुख्यमन्त्रीको संरक्षकत्वमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य/प्रस्ताव गर्न स्वीकृति दिने, खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय सुर्खेतलाई कूल ८ हजार ३०० क्वीन्टल खाद्यान्न ढुवानीका लागि रु. २ करोड ४७ लाख ९८ हजार ८३३ रकम अनुदान उपलब्ध गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
खाद्यान्न खरिदका लागि कालिकोट र डोल्पा जिल्लाका स्थानीय तहहरुलाई रकम हस्तान्तरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने र स्थानीय तहहरुले सम्वन्धित जिल्ला अदक्ष कामदारको जिल्ला दररेट अनुसार काम गरेको कार्यदिनको आधारमा उपलब्ध गराउने खाद्यान्न (चामल) को मापदण्ड बनाई खाद्यान्न वितरण गर्ने, प्रदेश जलस्रोतको एकीकृत उपयोग,व्यवस्थापन तथा संरक्षण नीति, २०७८ मा स्वीकृति प्रदान गर्ने, हाल कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको करार म्याद समाप्त भएको मिति देखि मिति २०७८ असार मसान्तसम्म थप गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै बैठकले रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने तथा प्रदेश भित्रै अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेत र स्वास्थ्य सेवा कार्यालय, कालिकोटमा पर्याप्त क्षमताको रिफिलिङ सिस्टम सहितको अक्सिजन प्लान्ट स्थापना गर्नको लागि कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतलाई १ करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय, कालिकोटलाई ८० लाख थप रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री नेपालीले बताउनुभयो ।
https://www.youtube.com/watch?v=WjkHFaoOp6k
Prawash Kumar Shakya । ११ जेष्ठ २०७८, मंगलवार २०:११ बजे