ओली समर्थकहरुद्वारा वीरेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन (भिडियोसहित)


प्रवाश/मिलन

२८ असार, सुर्खेत । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले देशका विभिन्न ठाँउमा मसाल जुलुस निकालेका छन् ।

यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि अदालतको निर्णय विरुद्ध प्रधानमन्त्री केपी ओली समर्थक यूवाहरुको एक समूहले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

यसैवीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गर्नुभएको छ। विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभएको हो । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ ।’

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले आम नेपाली जनताको जीत भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘फैसलालाई इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ बताउँदै नेपाल र नेपाली जनताको जीत भएको छ । ‘अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ ।’

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभयो । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उहाँले जिकिर गर्नुभयो ।