खाना पकाउने ग्यास अब समयतालिका अनुसार खरिद गर्नुपर्ने


कुमार शम्सेर थापा

२८ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) महामारी एवं त्रासदीलाई मध्यनजर गर्दै वीरेन्द्रनगर सुर्खेतमा ग्यासका विक्रेताहरुले पनि समय तालिका अनुसार ग्यास विक्री गर्ने जनाएका छन् ।

हिजो विहिवार विपद व्यवस्थापन समितिबाट निर्णय भए अनुसार अर्को सूचना जारी नभए सम्मकालागि विहान ७ बजेदेखि ९ सम्म सम्म र दिउँसो १ बजेदेखि ३ बजे सम्म ग्यास विक्री वितरण हुने बताइएको छ ।

वीरेन्द्रनगरमा भेरी ग्यास करिब १६ सय थान सिलिण्डर मौज्दात रहेको भेरी ग्यास सुर्खेतका अधिकृत विक्रेत नन्दनी ट्रेडर्सका विनोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पिपिरामा १ सय, लाटीकोइलीमा ५ सय, बाँङ्गेसिमलमा २ सय र बजारको मुख्य डिपोमा ८ सय थान सिलिण्डर मौज्दात रहेको छ ।

त्यस्तै मनकामना ग्यासको अधिकृत विक्रेता माँ दुर्गा सप्लायर्सका सौगात रावतका अनुसार ८ सय थान, रेडियण्ट ग्यासका अधिकृत विक्रेता न्यू सूर्या ट्रेड लिंकका जय खड्का अनुसार २ सय ७५ थान सिलिण्डर र राप्ती ग्यासका अधिकृत विक्रेता सगरमाथा ट्रेडर्सका चन्दनारायण शाहका अनुसार ६ सय थान सिलिण्डर मौज्दात रहेको छ ।