चैत्र २, २०७३- नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा नयाँ शोषक र सामन्तको रुपमा उदाउन थालेको बताएका छन् ।
बुधबार राजधानीमा सुरु भएको ‘राष्ट्रिय लघुवित्त सम्मेलन–२०१७’लाई सम्बोधन गर्दै उनले यस्ता संस्थाले गरिबलाई शोषण गर्न थालेको बताएका हुन् । ‘म राजधानी बाहिर जहाँ जान्छु लघुवित्त संस्थाहरु नयाँ शोषक सामन्त भए भन्ने नै गुनासो आउँछ,’ उनले भने, ‘तपाईंहरुको सामाजिक उत्तरदायित्व छ, गरिबलाई शोषण गर्ने संस्थाको पहिचान नबनाउनुस् ।’ उनले लघुवित्त कम्पनीहरुले पनि वाणिज्य बैंकहरुकै जस्तो नाफालाई महत्व दिएर सामाजिक उत्तरदायित्व भने वहन नगरेको आरोप लगाए । नेपालले गलत गर्ने यस्ता कम्पनी बन्द समेत हुनसक्ने चेतावनी दिएका छन् ।
‘तपाईंहरु व्यापार नै गर्ने भए अरुनै व्यवसाय गर्नु सक्नुहुन्छ, लघुवित्त चलाएर समाज सेवा गर्छु भन्दै गरिबलाई शोषण गर्न पाइँदैन,’ उनले भने, ‘गलत काम गर्ने संस्थाहरु बन्द हुन्छन्, अरु कारबाही हुनसक्छ ।’ लघुवित्त चलाएर करोड, अर्ब कमाउने मानसिकता राख्नेहरु बढेको नेपालको तर्क थियो । ‘लघुवित्त चलाएर करोड कमाउने सोचमा हुनुहुन्छ भने तपाईंहरुले अहिले नै यो व्यवसाय छाडे हुन्छ,’ उनले भने ।
लघुवित्तका कारण घरबारविहीन हुनेहरु बढेको गुनासो आइरहेकाले त्यस विषयमा सम्मेलनमा छलफल हुनुपर्ने उनले बताए । यस्ता संस्थाले गलत मात्र नभई राम्रो काम पनि गरिरहेको तर, गलत मानिसहरु प्रवेश गरेकाले त्यसलाई रोक्नुपर्नेमा उनको जोड थियो । नेपालमा अहिले पनि औपचारिकरुपमा ४० प्रतिशत मात्र जनता वित्तीय पहुँचमा रहेकाले वित्तीय पहुँच नपुगेका स्थानमा लघुवित्त विस्तार हुनुपर्नेमा उनले जोड दिए ।
सम्मेलनमा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेकाले ग्रामीण क्षेत्रको सवलीकरणबिना यो पूरा नहुने बताए । उनले त्यसका लागि लघुवित्तको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । ‘तपाईंहरुको भूमिका महत्वपूर्ण छ, काम चुनौतीपूर्ण पनि छ,’ उनले भने, ‘सही ढंगले काम गर्दा सरकारले साथ दिइरहेको छ ।’ उनले सम्मेलनबाट आएको निष्कर्षलाई सरकारले समेत अध्ययन गरेर नीतिगत सुधार गर्ने आश्वासन दिए ।
लघुवित्त विकास बैंक संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तका लागि स्रोतको अभाव हुन थालेको बताए । उनले स्रोत व्यवस्थापनका सरकारले सहयोग गर्नुपर्ने बताए । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले लघुवित्तका लागि स्रोतको अभाव नहुने बताए । लघुवित्तलाई ‘क’ वर्गको बैंकभन्दा बढी अवसर भएको बताए ।
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विषयका २८ वटा कार्यपत्र र प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । लघुवित्त कम्पनी, बैंक, वित्तीय क्षेत्र, सरकार, दातृनिकाय लगायतका प्रतिनिधि र विज्ञ सहभागी सम्मेलनले लघुवित्तसम्बन्धी नयाँ अवधारणा, नेपालमा लघुवित्तको अवस्था, नीतिगत व्यवस्था, लघुवित्तको सफलता र विफलता लगायतका विषयमा छलफल गर्नेछन् ।
साभारः कान्तिपूरअनलाइन



Prawash Kumar Shakya । २ चैत्र २०७३, बुधबार ११:२५ बजे