यौन दुर्व्यवहार गर्ने न्यायाधीश निलम्बित, घटनाको छानवीन गरिने


महोत्तरी— मादक पदार्थ सेवन गरी बर्दिबासको एक होटलमा महिलालाई यौन दुर्व्यवहार गर्ने जिल्ला अदालत महोत्तरीका २ नम्बर बेञ्चका न्यायाधीश पूर्णप्रसाद बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ। घटना हुँदा उनीसँगै रहेका अर्का न्यायाधीश प्रकाश ढुंगानालाई समेत जिम्मेवारी मुक्त गर्दै सर्वोच्च अदालतले काठमाडौं तानेको छ।

जिम्मेवारीबाट मुक्त गरिनु अनौपचारिक रुपमा निलम्बन नै हो।

जिल्ला अदालत महोत्तरीका नायव सुब्बा महेन्द्रकुमार झाका अनुसार यौन दुव्र्यवहार गर्ने न्यायाधीश बाँस्तोला तथा घटना हुँदा उनीसँगै रहेका ढुंगानालाई सर्वोच्चले काठमाडौं झिकाउने परिपत्र गर्दै जिम्मेवारीबाट मुक्त गरेको हो। काठमाडौं बोलाइएका न्यायाधीशमाथि सर्वोच्च अदालतका प्रधान न्यायाधीश कल्याण श्रेष्ठले छानवीन प्रक्रिया अघि बढाउने संकेत गरेका छन्।

ुसार्वजनिक भएको घटना हेर्दा त्यो न्यायाधीशको आचारण सुहाउने किसिमको छैन। यस्तोमा उहाँहरुलाई अदालतमै राखिराख्न उपयुक्त नहुने देखिएपछि छानवीन गर्न र सत्यतथ्य बुझ्न आवश्यक भएकाले सम्माननीयज्यूले छानवीन प्रक्रिया अघि बढाउनु भएको हो। यो एक किसिमको निलम्बन नै हो, सर्वोच्च अदालत स्रोतले भन्यो।

छानवीनबाट दोषी पाइए उनीहरुलाई सेवाबाट हटाउन सक्नेसम्मको अधिकार न्यायपरिषद अध्यक्षका हैसियतले प्रधान न्यायाधीशलाइ छ।

लुकाउन खोजिएको न्यायाधीश यौन दुव्र्यवहारको घटना नागरिकन्युजले सोमबार दिउसो प्रकाशित गरेपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चासो जनाउँदै दुवै जिल्ला न्यायाधीशलाई जिम्मेवारीबाट मुक्त गरी काठमाडौं बोलाउन निर्देशन दिएका थिए।

सर्वोच्च अदालतबाट उनीहरुलाई झिकाउने परिपत्र आए लगतै दुवै न्यायधिश काठमाडौं गइसकेका छन्।
छानवीन गरिने
महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका जिल्ला न्यायाधीशमाथि छानवीन गरिने सर्वोच्च अदालत स्रोतले जनाएको छ। प्रधान न्यायाधीश श्रेष्ठले घटनालाई गम्भीरतापूर्वक लिँदै दुवै न्यायाधीशलाई सर्वोच्च बोलाएका हुन्।

ुघटना विवरण मिडियाबाट सार्वजनिक भएपछि यसबारे छानवीन गर्ने तयारी भइरहेको छु, सर्वोच्च स्रोतले नागरिकन्युजसँग भन्यो, समग्र न्यायलय र न्यायाधीशको गरिमामाथि प्रश्न खडा भएकाले छानवीन गरी दोषी ठहरिए कारवाही गर्न सम्माननीय श्रीमान्ज्यूले अग्रसरता देखाउनु भएको छ।

मादक पदार्थसेवन गरेका न्यायाधीशले आइतबार दिउसो बर्दिबासको शिश महल होटलमा स्थानीय सहकारीको किस्ता संकलन गर्ने महिलालाई यौन दुव्र्यवहार गरेका थिए। न्यायाधीश बाँस्तोलाले महिलालाई हात समातेर अश्लिल शब्द बोल्दै कोठामा लैजान खोजेपछि उनी चिच्याएकी थिइन्। महिलाले गुहार मागेपछि भागेर बा ११ च ५८९४ नम्बरको कार चढ्न खोज्दा स्थानीयले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइदिएका थिए।

प्रहरी छानवीनमा पक्राउ व्यक्ति न्यायाधीश भएको खुलेको थियो। सो जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय महोत्तरीले मातहातका निकायलाई घटनाबारे नबोल्न निर्देशन दिँदै आइतबार राति करिब १० बजे पीडित महिलासँग हात जोडेर माफी माग्न लगाई घटनालाई सामसुम पारेको थियो।

यौन दुव्र्यवहारको घटनामा रंगेहात पक्राउ परेका व्यक्तिउपर मुद्दा चलाउने अधिकार इलाका प्रहरी कार्यालयलाई रहे पनि घटनालाई सामसुम पार्ने प्रयासस्वरुप एसपी भट्टराईले दुवै पक्षबीच वार्ता गराउने कार्यको भूमिका निर्वाह गरेका थिए। उनले पीडित पक्षलाइ मेलमिलाप नगरे त्यसपछि उत्पन्न परिणामको जिम्मेवार आफैँ हुनुपर्नेु भन्दै माफी मागेकै भरमा चुप लाग्न दवाब दिएका थिए।साभारः नागरिक दैनिक ।