बसपार्कका व्यावसायीहरुद्वारा धरौटी रकम फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाए


३ चैत्र, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कमा व्यवसायगर्दै आएका व्यापारीहरुले धरौटी रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् ।

पी.आर.कन्स्ट्रक्सनले वीरेन्द्रनगर नगरपालिकालाई भाडाको रकम नबुझाएकोले सम्झौता तोडिने डरले व्यावसायीहरुले रकम सुनिश्चता गर्न र सम्झौता अवधिभर बस्नदिन माग गरेका हुन् । व्यवसायीहरुले आज सुर्खेत उद्योग बाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकालाई धरौटी रकम सुरक्षित गरिदिन माग गर्दै ध्यानआकर्षण पत्र बुझाँएका छन् ।

उद्योग बाणिज्य संघमा केही दिन अगाडी तालाबन्दी गरिएको अवस्थामा पनि संघका महासचिव लक्ष्मण कँडेल र कोषाध्यक्ष भद्र भन्डारीले ज्ञापनपत्र बुझ्नु भएको हो । पी.आर. कन्स्ट्रक्सनलाई वीरेन्द्रनगर नगरपालिकाले यही फागुन २५ गते अन्तिम पत्र लेख्दै रकम बुझाउन ताकेता गरेको छ ।

कन्स्ट्रक्सनले सिटि बसपार्क सञ्चालन वापत नगरपालिकालाई जरिवाना सहित २४ करोड भाडा रकम भुक्तानी गर्न बाँकी देखिएको छ । ठेक्का तोडिने डरले त्यसक्षेत्रमा व्यवसायीहरुले आफुले धरौटी वापत दिएको रकम सुनिश्चत हुनुपर्ने, ३ बर्ष नै त्यहाँ बस्न पाउनुपर्ने माग गरेका छन । ५४ व्यवसायीहरुले ३ देखी ५ लाखसम्म धरौटीबाट रकम पी.आर. कन्स्ट्रक्सनलाई बुझाएको बताएका छन् ।

बसपार्क सञ्चालन गरे वापत प्रत्येक महिना वीरेन्द्रनगर नगरपालिकालाई रकम बुझाउनुपर्ने सम्झौता भएपनि पी.आर. कन्स्ट्रक्सनले करिब डेढबर्षको रकम बुझाएको छैन । वीरेन्द्रनगर नगरपालिका र पी.आर. कन्स्ट्रक्सनबीच २०७७ साउन २५ गते सिटि बसपार्क सञ्चालनका लागि सम्झौता भएको थियो । त्यसपछि व्यवसायी र पी.आर. बीच पसल सम्झौता गर्न भन्दै दुइपक्ष सम्झौता भएको थियो ।

व्यवसायीहरुले ३ बर्ष सम्मको लागी भन्दै सम्झौता गरेको भएपनि कन्स्ट्रक्सनले नगरपालिकालाई रकम नबुझाएका कारण आफुहरु समस्यामा परेको बताएका छन् । आफुहरुले महिनावारी रुपमा पी.आर. कन्स्ट्रक्सनलाइ रकम बुझाँएको भएपनि उसले रकम नुझाउँदा यस्तो समस्या आएको व्यवसायी हरिचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यता वीरेन्द्रनगर नगरपालिकाले भने आफुले नै भाडा उठाउन नसकेको भन्दै आफ्नो रकम आफै उठाउन भनेको छ । नगरपालिकाले आफुहरुसंग सम्झौता नगरि, पी.आर.संग सम्झौता गरिएकाले उतैबाट रकम असुल गर्न सुझाव दिएको छ ।