नेपाली कांग्रेसको संकल्प सहितको चुनावी वाचा नगर प्रमुखलाई हस्तान्तरण



११ जेठ,सुर्खेत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका क्रममा मतदाता समक्ष गरेका चुनावी वाचाहरु नगर प्रमुख मोहानमाया ढकाललाई हस्तान्तरण गरेको छ। कांग्रेसबाट मेयर पदका उम्मेदवार एवम् नगर सभापति उपेन्द्रबहादुर खड्काले निर्वाचनमा पराजित भएपनि समग्र वीरेन्द्रनगरको विकास र समृद्धिका लागि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गराउनका लागि नगरप्रमुख ढकाललाई चुनावी घोषणापत्र हस्तान्तरण गरिएको बताए।

‘वडा–वडाबाट जनताका आवश्यकता र मागहरुलाई समेटेर हामीले घोषणापत्र तयार गरेका थियौं,’ खड्काले भने, ‘घोषणापत्रमा लेखिएका विषयहरु कार्यान्वयन गर्ने ठाउँमा आफू नपुगेकाले त्यसलाई कार्यान्वयन गराउनका लागि निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण गरेका हौं।’

कांग्रेस नगर सभापतिसमेत रहेका खड्काले नगरको फोहरमैला व्यवस्थापन गर्न, उत्तरी क्षेत्रका जनताका लागि स्वास्थ्य र यातायातमा सहज पहुँच बढाउन, सोतखोलामा मानव निर्मित ताल निर्माण गर्न, हरेक महिना कार्यपालिका बैठक लगत्तै नगरका गतिविधिहरुलाई पत्रकार सम्मेलनमार्फत जानकारी गराउन, घरघरमै गर्भजाँच सेवा सुरु गर्न, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई घर–आँगनमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा पुर्‍याउनका लागि पनि ध्यानाकर्षण गराए।

‘सरल र पूरा गर्न सकिने विषयहरु राखेर हामीले चुनावी घोषणापत्र बनाएका थियौं,’ घोषणापत्र बुझाउँदै नगर प्रमुखमा पराजित खड्काले भने, ‘हामीले जनतासँग गरेका बाचाहरुमा निरन्तर निगरानी गर्नेछौं, कार्यान्वयनतर्फ ध्यान दिनुहोला।’

नगर प्रमुख ढकालले सबैलाई समेटेर प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई राम्रो बनाउने बताइन्। ‘चुनावमा सबै राजनीतिक दलहरुले जनता समक्ष नगरपालिकालाई राम्रो बनाउने प्रतिवद्धता जनाएका थियौं,’ उनले भनिन्, ‘कार्यान्वयन गर्ने ठाउँमा म पुगेकाले सबैका चुनावी प्रतिवद्धतालाई समेत समेटेर काम गर्नेछु।’ उनले नगरलाई समृद्धि र विकासको मार्गमा डोर्‍याउनका लागि सबैको साथ, सहयोग र सल्लाहको आवश्यक रहेको बताइन्।