थप दुई एयरबस खरिद प्रक्रिया शुरु


A320_Nepal_Airlines_01राष्ट्रियध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि थप दुईवटा एयरबस खरिद प्रक्रिया शुरु गरेको छ। नेपाल सरकारको जमानीमा विभिन्न संस्थासँग ऋण लिएर विमान खरिद गर्न लागिएको बताइएको छ। वाइड बडी भएका र टाढासम्म सिधै उडान गर्नसक्ने ती विमान थपिएलगत्तै विभिन्न ५ वटा नयाँ गन्तब्यमा उडान शुरु गर्ने योजना रहेको निगमका अधिकारीहरुले बताएका छन्। तेस्रो मुलकबाट पर्यटकहरु नेपाल भित्र्याउन विदेशी वायुसेवा निगमको भर गर्नु परेको भन्दै पर्यटक बढाउन देशकै सरकारी निगमले विमान खरिद गर्न लागेको हो।

तयारी

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकको निर्णयपछि आइतबार बोलपत्र आह्वान गरिएको छ।

२ सय ५० देखि २ सय ८० सिटसम्म क्षमता हुने ती दुई विमान निगमसँग हाल भएका विमान भन्दा फरक प्रकृतिका रहेको निगमका प्रवक्ता रामहरि शर्माले बताए। उनले भने, “निगममा सानो आकारका मात्रै विमान छन्, पर्यटक भित्र्याउने गरि टाढाको गन्तब्यमा जाने खालका वाइड बडी भएका विमान छानेका छौं।” विमान खरिदमा करिब २५ अर्ब खर्च हुने अनुमान गरिएको छ। सरकारकै जमानी ऋणमा ति विमान खरिद गरिने बताइएको छ। सरकारले जमानी बस्ने निश्चित गरिसकेको र कतिपय संस्थाले लगानीका लागि ईच्छासमेत देखाइसकेका छन्।

योजना

दुईवटा विमान थपिए लगत्तै थप ५ वटा टाढाका गन्तव्यमा सिधै उडान शुरु गर्ने योजना निगमले बताएको प्रवक्ता शर्माले बताए। उनले भने, “हामीले अहिले व्यवसायिक योजनामा जापान, कोरिया, अष्ट्रेलियालगायतका पाँच ठाउँमा नयाँ गन्तव्य बनाउने योजना राखेका छौं।” खरिद प्रक्रियाका सबै काम सकेर आगामी वर्षको असोजमा पहिलो विमान र त्यसको ६ महिनामा अर्को विमान आइसक्ने बताइएको छ। अहिले अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग दुईवटा बोइङ र दुईवटा एयरवस रहेका छन्। त्यसमध्य एउटा बोइङमर्मत गर्न सकिने अवस्थामा पनि नभएकाले लिलाम गर्न लागिएको बताइएको छ।

साभारः विविसी