सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाद्वारा शेयरसदस्यहरुलाई सम्मान


१४ जेठ, सुर्खेत । सुर्खेत बहुद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतले सहकारी संस्थाका शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
गत बैशाख ४ गते सम्पन्न सुर्खेत उद्योग बाणिज्य संघको १३औं कार्यसमिति निर्वाचनबाट निर्वाचित सहकारी संस्थाका सल्लाहकार, लेखासमिति संयोजक, कर्जा उप–समिति सदस्य र शेयर सदस्यहरुलाई एक कार्यक्रम बिच सम्मान–पत्र सहित सम्मान गरेको हो ।

बाणिज्य संघको कार्यसमिति निर्वाचनमा सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष एवंम् सल्लाहकार गणेशकुमार बस्नेतले भारी मत प्राप्त गरी बरिष्ठ उपाध्यमा त्यस्तै संस्थाका निवर्तमान लेखा समिति संयोजक भद्र भण्डारी महासचिवमा, कर्जा उप–समिति सदस्य राम प्रसाद पाण्डे कोषाध्यक्ष पदमा र संस्थाका शेयर सदस्य सागर भुषाल संघको सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।

संस्थाको विभिन्न तहमा रहेर संघको निर्वाचनमा निर्वाचित हुनु भएका गणेशकुमार बस्नेत, रामप्रसाद पाण्डे र सागर भुषाललाई सम्मान–पत्र सहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरिएको थियो भने कार्यक्रममा संघका महासचिव भद्र भण्डारी नेपाल बाहिर हुनुभएकोले उहाँको अनुपस्थित रहेको थियो ।