सुर्खेतमा पनि मनाइयो यःमरी पुन्ही, नेवाः मिसा दबुको अध्यक्षमा श्रेष्ठ (भिडियोसहित)


२२ मंसीर, सुर्खेत । यसपटक कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक यःमरी पुन्ही भब्यताकासाथ मनाइएको छ ।

नेवाः मिसा दबु सुर्खेतको प्रथम अधिवेशन सहित भव्यताकासाथ यःमरी पुन्ही मनाइएको नेवाः मिसा दबु सुर्खेतका अध्यक्ष उर्मिला श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले समुदायको श‌ैक्षिक, आर्थिक रूपमा परिवर्तन सहित कला, साँस्कृति जर्गेनामा लागेकाेमा सम्पूर्णलाई धन्यवाद दिनु भयाे । त्यस्तै विशेष अतिथि नेवा: देय: दबू कर्णाली प्रदेश उपाध्यक्ष सुन्दरमान श्रेष्ठ, अतिथि नेवाःदेय: दबू निबर्तमान केन्द्रीय उपाध्यक्ष मिलन श्रेष्ठ र नेवा: देय: दबू सुर्खेतका वरिस्ठ उपाध्यक्ष लवमान श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएकाे थियो ।

अधिवेशनले रुक्मणी श्रेष्ठलाई अध्यक्षलाई निर्विरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा लक्ष्मी कार्की प्रधान (सिया), सचिवमा लक्ष्मी श्रेष्ठ मानन्धर, कोषाध्यक्षमा कृष्णा श्रेष्ठ र सहसचिवमा विद्याश्वरी श्रेष्ठलाई निर्विरोध चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा उमा श्रेष्ठ, कबिता श्रेष्ठ, रूपा श्रेष्ठ, चण्डेश्वरी ह्यूजु, हरिमाया श्रेष्ठ, सीता श्रेष्ठ र गिता श्रेष्ठ निर्विरोध चयन हुनभएको छ ।

के हो यःमरी पुन्ही ?

हेमन्त ऋतुको नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाका दिनमा नेवार जातिले यो पर्व मनाउने गर्दछने । यो दिन विशेष प्रकारको बनाइने परिकारलाई यःमरी भनिन्छ ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको  रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । यःमरी खाइने भएकोले यसलाई य: मरि पुन्ही (य: मरि पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन काठमाण्डौं उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसीर महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा य: मरि पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर य: मरि पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य: मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । य: मरि पुन्हीका दिनदेखि दिन लामो हुने र य: मरिको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।