औलोका बिरामी २९ जना भेटिए


वैशाख १७, बैतडी ।

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडीमा २९ जना औलो रोगका बिरामी फेला परेकाछन् ।

पछिल्लो तीन वर्षयता औलो रोगका बिरामी बढ्दै गएकाले बैतडी जिल्ला औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले बताएको छ ।

बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन् । कार्यालयका अनुसार जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा उपचारका क्रममा पुगेका बिरामीको रगत परीक्षण गर्दा औलोको संक्रमण फेला परेको हो ।

पहाडी भेगमा पनि लामखुट्टेको संख्यामा वृद्धि भएसँगै औलोका बिरामी पनि बढ्न थालेका हुन् ।

औलोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुँदा नियमित झूलको प्रयोग, आफ्नो घर वरिपरिको वातावरण स्वच्छ, सफा राख्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएकाछन् ।